काठमाडौ । एकैदिन चार वटा विश्वविद्यालय–प्रतिष्ठानको सिनेट सम्पन्न भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार कृषि तथा वन विज्ञान विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट सम्पन्न भएको हो ।
सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूका कुलपति प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको सिनेटले आगामी आर्थिक वर्षको लागी बजेट स्वीकृत गरेको छ । कुलपति ओलीले सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आर्थिक वर्षअगावै आगामी आवको बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृति गर्न दिएको निर्देशनअनुसार छोटो सूचनाका आधारमा विश्वविद्यालयको सभा राखिएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४औँ बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृती गरेको हो । विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तर सुनिश्चितताका साथै बिजनेश इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए ।
यस्तै पूर्वाञ्चल विश्वविद्यालयको ४१औँ सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ । सभामा रजिष्ट्रार प्राडा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो । सभाले उपकुलपति प्राडा बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि पारित गरेको छ । सो विश्वविद्यालयले शिक्षण अस्पतालको स्तरोन्नतिसहित ‘एमबिबिएस’ कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको १३औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा विनोद लेखकद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत गरिएको हो । कुलपति ओलीले विश्वविद्यालयको आर्थिक स्थितिलाई तन्दुरुस्त राख्न आग्रह गर्दै बजेट प्रस्तुत गर्दा यथार्थ चित्रका आधारमा गर्न निर्देशन दिए । साथै आव २०८१/८२ को नियमानुसार लेखा परीक्षण गराउन पनि उनले निर्देशन दिएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको १५ औँ बैठकले आगामी आर्थिक वर्षका लागि तीन अर्ब १९ करोड ४६ लाखको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो । कुलपति ओलीले बेरुजु फछ्र्योटलाई अझै तीव्रता दिन र गुणस्तरीय सेवा दिन आग्रह गरे । कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय (प्रतिष्ठान)हरुले नयाँ आर्थिक वर्ष लाग्नुअगावै आगामी आव बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिको क्रम जारी रहेको छ । बुधबारको लागी दुई वटा विश्वविद्यालयको सिनेट राखिएको छ ।