सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार उनलाई उपभोक्ता समितिबाट १ लाख रुपैयाँ घुस लिँदै गर्दा समातेको हो। सूत्रका अनुसार, नगरपालिकाको २० लाख रुपैयाँको नाला योजनामा मेयर साहले उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए। समितिले रकम दिन नमानेपछि उनले योजनाको चेक रोकेका थिए। अन्ततः एक लाख अग्रिम र बाँकी चेक भुक्तानीपछि दिन सहमत भएपछि उपभोक्ता समितिले अख्तियारमा जानकारी दिएको हो। हाल अख्तियारको टोली नगरपालिकाको कार्यालयमै रही थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ।