दोलखा,जिल्लाको विगुगाउँपालिका–१, हुरहुरेमा सानीमा हाइड्रोपावरको बाटो सर्भे गर्ने क्रममा पहिरो खस्दा तीन जना प्राविधिक घाइते भएका छन्। घाइते हुनेमा नुवाकोट बिदुर–४ का २९ वर्षीय सब इन्जिनियर सुनिल न्यौपाने, रामेछाप लिखु तामाकोशी–४ का २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोक मेलम्ची–१ का २७ वर्षीय सन्दिप चौलागाइ छन्। जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोका अनुसार न्यौपानेको टाउकोमा गम्भीर चोट लागेका कारण श्री एयरलाइन्सको हेलिकप्टरमार्फत उनलाई हेम्स अस्पताल, काठमाडौं पठाइएको छ। अन्य दुई घाइते बुढाथोकी र चौलागाइको अवस्था सामान्य रहेको र उनीहरूलाई स्थानीय प्रहरीले उद्धार गरेको जनाएको छ।