काठमाडौं । गत असार ११ गते नेपाली सञ्चारमाध्यमहरूमा पहिलोपटक सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो, तस्विर र नोटसहितको समाचार आर्थिक दैनिकले प्रकाशन गरेको थियो । सो समाचारमा युट्युबमा राखिएको अडियोको क्युआर कोड समेत प्रकाशित गरिएको थियो ।
मन्त्री गुप्तासँग डिल गरिरहेको अडियो रेकर्ड गर्ने व्यक्ति थिए, सुजन लामा । नेकपा एमालेको गण्डकी प्रदेश सदस्य र जनजाति महासंघको प्रदेश महासचिव रहेका लामाले अडियो रेकर्ड नगरेको भए सायद हाल राजीनामा दिएका राजकुमार गुप्ता झण्डा हल्लाएर गाडीमा यात्रा गरिरहेका हुन्थे । सिंहदरबारभित्र मन्त्रीहरूले गरेको घुस काण्डबारे मिडियामा सायदै समाचार आउँथे ।
तर, यसरी अडियो रेकर्ड गरेर सिंहदरबारको अनुहार सञ्चारमाध्यममार्फत बाहिर ल्याएका उनै लामालाई अहिले चौतर्फी आक्रमण भइरहेको छ । भ्रष्टाचार गर्नेहरूको समूह अहिले पनि सिंहदरबारमा विराजमान छन् । उनले नै सार्वजनिक गरेको अडियोमा भूमिसुधारमन्त्री बलराम अधिकारी, सचिव अर्जुन पोखरेल र पूर्वमन्त्री रञ्जिता श्रेष्ठमाथि अनुसन्धान भएकै छैन ।
स्वयं राजकुमार गुप्ताले पनि राजीनामा दिएर उन्मुक्ति पाइरहेका छन् । सरकारले यो प्रकरणमा संलग्न मन्त्री र कर्मचारीमाथि कुनै अनुसन्धान गरेको छैन । तर, सामान्य परिवारका लामाबारे भने मूलधार सञ्चारमाध्यम एक ठाउँमा आएर बिचौलिया करार गरिरहेका छन् ।
बुधबार पोखरामा लिचिघारीको जग्गा सम्बन्धमा अदालतको फैसलाबाट जग्गाधनी बनेकाहरूले पत्रकार सम्मेलन गरेर नै लामाको बचाउ गरे । तत्कालीन जिल्ला अदालत कास्की र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाको आधारमा स्वर्गीय दुर्गादेवी शाहको हकभोग कायम भएको पोखरा १६ स्थित बाटुलेचौरमा रहेको लिचिघारीको जग्गाको विषयमा आयोजित पत्रकार सम्मलेनमा लामा विचौलिया नरहेको बताइएको थियो । ‘उहाँ हाम्रो परिवारको सदस्य हो । मेरो मितभाइ हो । मैले अदालतको फैसला कार्यान्वयनका लागि के गर्न सकिन्छ भनेर मितभाइसँग सहयोग मागेको थिएँ । उहाँले हामीलाई निःस्वार्थ हिसाबले सहयोग गर्नुभएको हो,’ दुर्गादेवी शाहका नाति सुरज शाहले पत्रकार सम्मेलन नै गरेर भनेका थिए, ‘केही राष्ट्रिय दैनिक पत्रिकाहरूले यो तहको झुटो खबर लेख्दा हामीलाई मर्माहत बनाएको छ ।’
शाहका अनुसार लामाले उनको परिवारसँग कुनै पनि आर्थिक कारोबार गरेका छैनन् । ‘सुजन भाइलाई देशभरका पत्रिकाले ठूलो विचौलिया बनाएको देख्दा हामीलाई अचम्म लागेको छ,’ सुरजले आर्थिक दैनिकसँग भने ।
आर्थिक दैनिकमा लामा र सामान्य प्रशासन मन्त्रीबीचको अडियो वार्ता सार्वजनिक भएपछि मन्त्री गुप्ताले मंगलबार राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । यता अडियोमा नाम समेत उल्लेख नभए पनि सञ्चारमाध्यमहरूमा गोप्य स्रोतको संरक्षण गर्नुपर्ने पत्रकार आचारसंहिताविपरीत स्रोतको पहिचान खुलाई चरित्र हत्या समेत हुन थालेपछि लामा तनावमा परेका छन् । आफ्ना निकटस्थहरूलाई फोन गरेर लामाले आफूलाई सञ्चारमाध्यमले आत्महत्या गर्ने ठाउँमा पुर्याएको बताउन थालेका छन् । मिडियाले उनको विषयमा धेरै टिप्पणी गर्न थालेपछि प्रसारित अडियोलाई उनले एआईले बनाएको भनी सरकारको बचाउ गर्न बाध्य भएका छन् ।
तत्कालीन मालपोत अधिकृतको थमौतीका लागि भन्दै सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ५३ लाख रुपैयाँ लिएको झोला र पैसाको प्रमाण आर्थिक दैनिकले खुलासा गरेको थियो । त्यस्तै, भूमि आयोगको कास्की जिल्ला अध्यक्ष नियुक्तिमा समेत मन्त्री गुप्ताले २५ लाख डिल गरेका थिए । त्यति मात्रै होइन हाल भूमिसुधारमन्त्री रहेका बलराम अधिकारीले पनि ३२ लाख रुपैयाँ लिएको अडियो आर्थिक दैनिकले खुलासा गरिसकेको छ । यो प्रकरणको अनुसन्धान र कारबाही गर्नुको सट्टा अडियो रेकर्ड गर्नेहरूमाथि मिडियामाथि प्रहार भइरहेको छ । एमाले नेता सूर्य थापाले अडियो सार्वजनिक गर्ने व्यक्तिहरूमाथि अनुसन्धान हुनुपर्ने अनौँठो माग राखेर फेसबुक स्ट्याटस लेखेका छन् ।