जनकपुरधाम । बजार मूल्यभन्दा कम रकम पाउने भएपछि किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेका छैनन् । सङ्घीय सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले गहुँ खरिदका लागि बजारभन्दा सस्तो मूल्य तोकेकाले किसानले कार्यालयलाई गहुँ बिक्री नगरेका हुन् ।
सरकारले प्रतिक्विन्टल तीन हजार आठ सय ६७ रूपैयाँ ३८ पैसाका दरले खरिद गर्नेगरी तोकेको समर्थन मूल्यका आधारमा गहुँ खरिद प्रक्रिया अगाडि बढाइएको थियो । जनकपुरसहितका बजारमा चार हजार चार सय रूपैयाँ प्रतिक्विन्टल गहुँ बिक्री हुने भएपछि किसानले निजी क्षेत्रका व्यवसायीलाई उपलब्ध गराइरहेका कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख निर्मल थापाले किसानले कार्यालयमा गहुँ बिक्रीको मूल्य जानकारी लिन आए पनि बिक्री गर्न नआएका बताए । बजारभन्दा यहाँको खरिद मूल्य निर्धारण सस्तो भएकाले उत्पादित गहुँ निजी व्यापारीलाई बिक्री गरेका उनको भनाइ छ । धनुषा र महोत्तरीका किसानबाट यस वर्ष दुई हजार पाँच सय क्विन्टल गहँु खरिद गर्ने लक्ष्य रहेको जनाउँदै प्रमुख थापाले प्रतिकिसानबाट ५० क्विन्टल र प्रतिसहकारी संस्थाबाट पाँच सय क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएको बताए ।
गत फागुन र चैतमा काटिएको गहुँ खरिदसम्बन्धी कार्यालयले सूचना प्रकाशित गरी बिक्रीका लागि किसानलाई आग्रह गरेको थियो ।
कार्यालयको हाताभित्र गहुँ खरिदका लागि निःशुल्क काँटा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ । धनुषा र महोत्तरी जिल्लाका सम्बन्धित स्थानीय तहको सिफारिससहित बिक्रीका लागि गहुँ सफा गरी तोकिएको मापदण्डका आधारमा तयार हुनुपर्ने बताउँदै प्रमुख थापाले बिक्रीको भुक्तानी किसानलाई चेकमार्फत गराइने कार्यालयद्वारा जारी सूचनामा जनाइएको उल्लेख गरे । धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीको गहुँ खरिदसम्बन्धी समितिको बैठक बसेर खरिद प्रक्रिया सुरु भएको जनाइएको थियो । बैठकमा सम्बन्धित निकायका पदाधिकारीहरूको पनि सहभागिता थियो । सोही बैठकका आधारमा खरिद प्रक्रिया सुरु भए पनि किसानले कार्यालयमा गहुँ बिक्री नगरेका उनले जानकारी दिए ।
यसैबीच कार्यालयले चालू आवमा लक्ष्यको तुलनामा धान खरिद पनि कम भएको जनाएको छ । बत्तीस हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकामा पाँच हजार तीन सय ४६ क्विन्टल मात्र खरिद गरिएको कार्यालयका प्रमुख थापाले जानकारी दिए ।