काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालू आर्थिक वर्ष २०८१/८२ मा ७ वटै प्रदेशमा रहेका आफ्ना एक सय ४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बागमती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका नौ शाखामार्फत विभिन्न उमेरसमूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका कार्यक्रमको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यससँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ प्रणाली मजबुद हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।