धरान (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताएका छन् ।
नेकपा एमाले १९ नं वडा कमिटीले आयोजना गरेको स्मृतिसभा कार्यक्रममा उनले यो सेवा तीन महिनाका लागि सुरु गरिएको भए पनि अब बन्द नहुने बताए । कोशी प्रदेश सरकार बिपी प्रतिष्ठानलाई जनताको पहिलो स्वास्थ्य सहाराको रूपमा उभ्याउन सफल भएको उल्लेख गर्दै उनले जनताको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र स्वास्थ्य सेवा अस्थायी हुने कुरा कहिल्यै स्वीकार्य नहुने बताए ।
मुख्यमन्त्री कार्कीले दिवङ्गत तारा सुब्बाको सम्झनामा धरानको समग्र विकासका लागि संकल्पसहितको सहकार्य आवश्यक रहेको बताए । धरानलाई स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगारीको केन्द्रका रूपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बसाइँसराइ रोक्न त्यसअनुसार संरचना निर्माणको खाँचो औँल्याए ।
उनले धरानको दीर्घकालीन खानेपानी समस्याका सम्बन्धमा सङ्घीय सरकारसँग सहकार्य गरी ‘लेउती सुरुङ मार्ग’ निर्माणको सम्भाव्यता अध्ययन अघि बढाउने बताए ।