काठमाडौ । नेपाल राष्ट्र बैंकले आज बिहिबार देखि चालु आर्थिक बर्षको मौद्रिक नीतिमा उल्लेख भए अनुसारको शेयर धितो कर्जामा २५ करोडको सिमा लगायतका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको छ । शेयर धितो कर्जा सम्वन्धी यही र यो संगै कार्यान्वयनमा आएका मौद्रिक नीतिका अन्य व्यवस्थाहरुको सकारात्मक प्रभाव आज बिहिबारको शेयर बजारमा देखिएको छ ।
अघिल्लो दिन ३४ दशमलव ६१ अंकले बढेको नेप्से परिसुचक आज एकैदिन ७५ दशमलव ८४ अंकले उकालो लागेर २८ सय ७० दशमलव ६३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव २२ अंकले उकालो लागेर पाँच सय दशमलव ४९ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख ४१ हजार चार सय ३४ पटकको कारोबारमा तीन करोड ८६ लाख ३४ हजार तीन सय ५० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार चार सय ५५ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकाछन् । सो मध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।