काठमाडौं । खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालू आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गर्दै ऐतिहासिक सफलता हात पारेको छ ।
विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ । गत आर्थिक वर्षमा विभागको वित्तीय प्रगति ६३ प्रतिशत मात्र रहेकोमा चालू आर्थिक वर्षमा विभागले कुल ९० दशमलव १० प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको जनाइएको छ । विभागको अद्यावधिक विवरणअनुसार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बाँकेले ९७ दशमलव ८३, रामेछापले ९६ दशमलव ९१ प्रतिशत, रुपन्देहीले ९५ दशमलव ९४, म्याग्दीले ९५ दशमलव ६२ तथा कास्कीले ९५ दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेका छन् ।
समयमै योजना कार्यान्वयन, अनुगमन तथा अन्तरसंस्थागत समन्वयले गर्दा विभागले उल्लेख्य सफलता हात पार्न सफल भएको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘विभागको वित्तीय प्रगति ९० प्रतिशत पुगेको छ । यो विभागसहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो ।’ विगतका वर्षहरूमा तुलनात्मकरूपमा कम प्रगति हुँदै आएकोमा यस वर्ष विभागको वित्तीय प्रगतिमा उल्लेखनीय सुधार देखिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्यले बताए । मन्त्रालयमा प्रवक्ता ई मीना श्रेष्ठले विगतमा जस्तो रकमान्तर, भेरिएसन, म्याद थपजस्ता कामको लागि असार महिनामा अर्थ मन्त्रालय धाइरहन नपरेकाले विभागले आशातित सफलता हासिल गर्न सकेको बताइन् ।