काठमाडौं । नागरिक लगानी कोषले सञ्चालन गरेको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड आबद्ध भएको छ । उक्त लघुवित्तमा कार्यरत करिब छ सय जना कर्मचारी सो योजनामा आबद्ध हुनेसम्बन्धी सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले हस्ताक्षर गरेका हुन् ।
कोषको यो योजनामा संगठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारीहरू सहभागी हुनसक्ने व्यवस्था रहेको छ । यसअन्तर्गत योगदानमा वा गैरयोगदानमा आधारित भएर संघ–संस्थाले उपदान कोष व्यवस्थापन गर्न सक्नेछन् । सोही व्यवस्थाअनुसार ‘घ’ वर्गको राष्ट्रियस्तरको उक्त लघुवित्त कोषको उपदान योजनामा आबद्ध भएको हो ।