काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ‘आईएसओ २७००१ः२०२२’ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेसन हो । यस उपलब्धिले ज्योति विकास बैंकको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको छ । बैंकले मोबाइल बैंकिङ, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटी, मानव संसाधन, डिजिटल बैंकिङ, सामान्य प्रशासन, अपरेसन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उच्चतम र गुणस्तरीय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले इन्टरर्सटको यस सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो । यससँगै ज्योति विकास बैंकको सूचना सुरक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको सर्टिफाइ भएको छ । साथै, आईएसओ २७००१ः२०२२ सर्टिफिकेशनले बैंकप्रति ग्राहकवर्ग थप विश्वस्त हुने आधार निर्माण गरेको छ ।
बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास र नियन्त्रण नीतिहरूलाई गहन परीक्षण गराउँदै उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । इन्टरसर्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरूलाई प्राविधिक रूपमा बलियो, समसामयिक र जोखिम न्युन रहेको ठहर गर्दै उक्त सर्टिफिकेसन प्रदान गरेको हो । ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेसन र नवीनतम प्रविधिमार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ । ग्राहकहरूको सुविधाको लागि डिजिटल बैंकिङमा सक्रियरूपमा नयाँ प्रविधिहरू विस्तार गरिरहेको बैंकले सूचना सुरक्षा, साइबर जोखिमविरुद्ध निवारक प्रणाली, निरन्तर सुधारात्मक नीति तथा नियामक निकायहरूको व्यवस्था अनुपालनमा कुनै सम्झौता नगरी बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानीमार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४० करोड कर तिरेको छ । साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म १५ करोड रुपैयाँँ करस्वरूप बुझाइसकेको छ ।