मध्यविन्दु (नवलपरासी) । मोटरसाइकलको ठक्करबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
हुप्सेकोट–३ भूपति चोकमा बिहीबार राति मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । ग७प २७२१ नम्बरको मोटरसाइकलले बाटोमा हिँड्दै गरेको अवस्थामा शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको छ भने इन्दिरा कोइरालाको उपचार भइरहेको छ ।
स्थानीय अस्पतालमा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमैको पनि उपचार भइरहेको छ ।