काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वातावरणमैत्री अभियानलाई सशक्त बनाउने क्रममा काठमाडौं उपत्यकाको दुई प्रमुख स्थानहरू नारायणहिटी पथ र कमलादीस्थित आफ्नै भवनको प्राङ्गणमा आधुनिक इलेक्ट्रिक भेइकल (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । गाडी चार्ज प्रालिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सीसीटू सिगंल गनको क्षमता ४० किलोवाट रहेको छ ।
बैंकमा बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो चार्जिङ स्टेसन शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले ईभी चार्जिङ स्टेसन स्थापना गर्ने रणनीति अघि सारेको र आगामी दिनमा सातै प्रदेशस्थित आफ्नै भवनको प्राङ्गणमा चार्जिङ स्टेसन स्थापना गरिने कुरा समेत बताए । यो सर्वसाधारण, ग्राहक तथा ईभी प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ ।
सिटिजन्स बैंकले आधुनिक प्रविधियुक्त चार्जिङ यन्त्रहरू जडान गरी ग्राहकहरूलाई सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । यस अभियानले नेपालको दिगो ऊर्जा प्रयोग तथा प्रदूषण न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । वातावरण एवं पर्यावरणको संरक्षण र बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणको लागि सातै प्रदेशमा बैंकले १८ सयभन्दा बढी बिरुवा रोपेको छ ।