काठमाडौं । नेपाल ट्रष्टले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लाजिम्पाटस्थित भवन खाली गर्न पत्राचार गरेको छ। १८ असारको निर्णयअनुसार सम्झौता नवीकरण नगर्ने भन्दै ६ रोपनी १३ आना क्षेत्रफलको जग्गा छोड्न आग्रह गरिएको हो।पूर्व एआईजी किरण बज्राचार्यका अनुसार सीआईबीले न्यूनतम पूर्वाधारमा काम गर्दै आएको र सरकारी दरअनुसार भाडा तिर्दै आएको छ। तर, ‘प्राइम लोकेसन’ भएको जग्गामा व्यापारिक घरानाको दबाब बढ्दै गएपछि सीआईबीलाई स्थानान्तरणको चर्को दबाब आइरहेको छ। सीआईबीको स्थायी कार्यालय अझै नहुँदा बारम्बार स्थानान्तरणको अन्यौल झेल्नु परेको छ। यसले संगठित अपराध अनुसन्धान गर्ने निकायको गरिमा र काममा असर पुगेको उच्च प्रहरी स्रोतको गुनासो छ। पूर्वराजकुमारी प्रेरणाको जग्गा प्रकरणदेखि बाँसबारीको सरकारी जग्गा मुद्दासम्म सीआईबीको स्थान व्यवस्थापन सधैं विवादित र अव्यवस्थित रहँदै आएको देखिन्छ।