काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आईसीटी अवार्डको १०औँ संस्करणको लागि अनलाइन नोमिनेसन (आवेदन) खुला भएको छ ।
लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’को नोमिनेसन बिहीबारदेखि खुलेको हो । यस वर्ष १५ विधाहरूमा अनलाइन नोमिनेसन खुला गरिएको आयोजकले जनाएको छ । नोमिनेसन आफैं वा अन्य उपयुक्त व्यक्ति वा संस्थाहरूलाई विधाअनुरूप सिफारिस समेत गर्न सकिनेछ । प्रविधि क्षेत्रका स्टार्टअप, इनोभेसन, प्रडक्टसँगै सरकारी तथा निजी संस्थाहरूका डिजिटल रुपान्तरणका प्रयासहरूलाइ समेटेको छ । यसैगरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा पुर्याएको योगदानको आधारमा अन्य व्यक्तिहरूलाई पनि यस अवार्डले सम्मान गर्ने गरेको छ ।
आईसीटी अवार्डको ग्रान्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । अनलाइन नोमिनेसन, २५ बढी छनौट प्रक्रियाको मिटिङ, दर्जनौँ प्रि–इभेन्ट, टेलिभिजन सोलगायतको तयारी हुने ग्रान्ड फिनाले नेपालको सबैभन्दा ठूलो र भव्य अवार्ड समारोहको रूपमा आयोजना हुनेछ । १५ अवार्ड विधामा सर्वोत्कृष्ट छनौट गर्नको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट २० विज्ञ जुरी सदस्य रहनेछन् भने सरकारी र निजी क्षेत्रका सम्मानित १२ बढी व्यक्तिहरूको सल्लाहकार समिति गठन गरिनेछ ।
अवार्डमा क्याटेगोरी ‘ए’अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड र सोसियल इन्नोभेसन आईसीटी अवार्ड विधाहरू रहेका छन् । यी विधाहरूमा स्वयं प्रतिस्पर्धी आफँैले आवेदन दर्ता गर्नुपर्नेछ । क्याटेगोरी ‘बी’अन्तर्गत आईसीटीमार्फत समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा अवार्डमा आवेदन लिने गरिन्छ । यस विधाअन्तर्गत पायोनियर आईसीटी अवार्ड, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, आन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड विधाहरू रहेका छन् । यी विधाहरूमा आफैँ वा अरू कसैले पनि व्यक्तिको विवरण उल्लेख गरेर नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
यसैगरी, क्याटेगोरी ‘सी’अन्तर्गत सरकारी र निजी संस्थाहरूको डिजिटल रूपान्तरण तथा यसका लागि भएका प्रयास र अभ्यासहरूलाई हेरेर नोमिनेसन लिइने छ । यसअन्तर्गत डिजिटल गभर्नेन्स आईसीटी अवार्ड, डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल सर्भिसेस आईसीटी(इन्टरप्राइज सेक्टर) र डिजिटल सर्भिसेस आईसीटी(नियो सेक्टर) अवार्ड विधाहरू रहेका छन् । यस्तै, क्याटोगोरी ‘डी’अन्तर्गत रहेको साउथ एसिया स्टार्टअप आईसीटी अवार्डमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स, नेपालका, अफगानस्तानका स्टार्टअपहरूले आवदेन दिन सक्ने छन् ।
यी सम्पूर्ण अवार्ड विधाहरूमा साउन ३१ गतेसम्म अनलाइन आवेदन दिन सकिनेछ । अवार्डको आधिकारिक वेबसाइट आईसीटी अवार्ड डट ओआरजीबाट अनलाइन नोमिनेसन दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ ।