काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलको १४ वर्षमुनिको टोली डेनमार्कको डाना कप फुटबल प्रतियोगितामा सहभागी हुने भएको छ । विद्यालयको १४ वर्षमुनिका बालक फुटबल टोलीले आगामी जुलाई २१ देखि २६ सम्म डेनमार्कको ह्योरिङ सहरमा आयोजना हुने विश्वप्रसिद्ध डाना कप सेभेन–ए–साइड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएको हो ।
यो प्रतियोगिता विश्वकै सबैभन्दा अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता मानिन्छ, जहाँ यस वर्ष मात्र ४५ भन्दा बढी देशका एक हजार एक सय टोलीहरू सहभागी हुँदैछन् । संस्कृति टोलीलाई औरियम स्पोट्र्स एकेडेमीले प्रशिक्षण र नेतृत्व गरिरहेको छ । प्रतियोगितामा १४ वर्षमुनिको एक सयदेखि एक सय ५० टोलीसम्म सहभागी हुनेछन ।
यस समूहमा विश्वभरका विद्यालय तथा क्लब टोलीहरूले प्रतिस्पर्धा गर्छन् । पाँच दिनसम्म चल्ने राउन्ड–रोबिन खेलपछि ‘ए’ र ‘बी’ फाइनल खेल हुने व्यवस्था रहेको छ । उक्त प्रतियोगिता ५० भन्दा बढी घाँसे मैदान र सटल बस सेवासहितको सुविधासम्पन्न पार्क भेन्डियामा खेलहरू सञ्चालन हुनेछ ।