काठमाडौं । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नियुक्त गरेको छ ।
क्यानकी पूर्वसीईओ समेत रहेकी घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा सिद्धहस्त तथा दूरदृष्टि सम्पन्न व्यवसायी हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् ।
आईसीसी टुर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् । यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने लुम्बिनी लायन्सले विश्वास लिएको छ ।
साथै, खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने जनाइएको छ । लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले घिमिरेको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्याउने बताए ।