काठमाडौं : कर्णाली विकास बैंकको अनियमिततामा संलग्न रहेको भन्दै नेपाल राष्ट्र बैंकका पूर्व अनुसन्धान अधिकृत पक्राउ परेका छन् । बैंकाको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट उनलाई पक्राउ गरेको हो । सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेतले बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप लागेको छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैंकका कर्मचारीहरूबीच यो विषयले तनाव सिर्जना गराएको थियो । बैंकमा घोटाला प्रकरणमा प्रहरीले भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय सहित बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाहलार्इ पक्राउ गरेको छ ।