काठमाडौं । कालोधनको कारोबारका कारण मुलुक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को खैरो सूचीमा परेको र कालो सूचीमा पर्ने खतरा टार्न खैरो सूचीबाट बाहिर निकाल्नुपर्ने प्राथमिक दायित्व रहेको बेला सत्ताधारीहरूले सार्वजनिक खपतका लागि छिट्टै खैरो सूचीबाट मुलुकलाई बाहिर निकाल्ने प्रयास भइरहेको भन्ने अभिव्यक्ति भइरहेको बेला सम्पत्ति शुद्धीकरण विभागले घुस लिएर धमाधम कालोधनका कारोबारीहरूलाई सफाइ दिने वा मुद्दा तामेलीमा चढाउने गरेको पाइएको छ ।
कालोधनको कारोबारलाई रोक्ने र कालोधनका कारोबारीलाई कानुनी कारबाही अघि बढाउने अधिकार पाएको सम्पत्ति शुद्धीकरण विभागलाई त्यसको नेतृत्वले कालोधनको कारोबारका आरोपीहरूलाई कालोधनका कमिसन लिएर चोख्याउने धन्दा गर्नुले मुलुक खैरो सूचीबाट बाहिरिनेभन्दा पनि कालो सूचीमा पर्ने खतरा बढ्दै गएको छ । त्यस्ता कारोबारीसँग कालोधन नै कमिसन लिएर चोख्याउने प्रयास गरिएका व्यक्तिहरूमध्येका एक हुन्, अच्युत प्रसाद खरेल । उनी पेशाले ठेकेदार हुन् ।
उनी समानान्तर निर्माण सेवाका सञ्चालक हुन् । उनले ठेक्कापट्टाका काममा अग्रिम पेस्की पाउने गरेको र त्यसरी ठेक्का सम्झौता गरेपछि पाएका अग्रिम पेस्कीमध्येको रकम कम्पनीको नामबाट साझेदार समेत रहेका दाइ केशव प्रसाद खरेलको व्यक्तिगत खातामा सारेर त्यहाँबाट रकम निकालेर तोकिएको काममा नलगाई घुस खुवाउने र अन्य धन्दामा लगाउने गरेको भन्दै उजुरी परेपछि विभागले खरेल दाजुभाइमाथि छानबिन सुरु गरेको थियो ।
५८ करोड रुपैयाँ कालोधनको प्रयोग भएको र राजस्व छलेको लगायतको ‘जीओएएमएल’मार्फत ‘एसटीआरएम( २०२११०१०–००४५५ केस–२०२२०७१९– ०२४४’बाट केशव प्रसाद खरेलको नाममा शंकास्पद कारोबार क्रियाकलाप विवरण प्राप्त भएको उजुरीमा समानान्तर निर्माण सेवा प्रालिका निर्देशक केशव प्रसाद खरेलको व्यक्तिगत बचत खातामा व्यावसायिक कारोबार हुन सक्ने सम्भावना रहेको विवरण प्राप्त भएको र निजले उक्त कम्पनीको कारोबार निजको व्यक्तिगत बचत खाताबाट गरी राजस्व छली गरेको हुन सक्ने आशंका गरिएको थियो । खरेल दाजुभाइले त्यसरी ५७ करोड ७९ लाख रुपैयाँ गलत कारोबार गरेको उजुरीपछि कुख्यात बिचौलिया तारा सापकोटा मोलमोलाई र सेटिङमा लागेको र महानिर्देशक प्रेम भट्टराईले उक्त मुद्दा तामेलीमा राखेको पाइएको छ । पञ्चायतकालको पम्पादेवीजस्तै दरबार मासिएपछिकी लक्ष्मीदेवीका भाइ जो पञ्चायत कालका शरच्चन्द्र शाहको प्रतिनिधि पात्र ठानिन्छन्, उनको र सांसद सुनिल शर्माबीचको विवाद मिलाउने प्रयासमा रहेका भट्टराई वास्तवमा सुनील शर्मालाई थुन्नका लागि त्यहाँ लगिएका थिए ।
तर पछि मिलापत्र गराउन लागेपछि समानान्तरसँग २२ सौदाबाजीपछि बाहिरिनुपरेको थियो । यसअघि १६ अर्बभन्दा बढीको नक्कली भ्याट बिलको कारोबार गरेको उजुरीमा महानिर्देशक प्रकाश पौडेलले समानान्तरका खरेल दाजुभाइलाई जेल कोच्न खोजेका थिए । तर सुनिललाई थुन्ने र बिचौलियामार्फत १० करोड टक्र्याउने सर्तमा सापकोटाले बोकेर लगेको भट्टराईले मिलाउने बाटोमा लागेपछिको असहमतिमा आफैं बाटो लाग्नुपरेको थियो ।
भट्टराई सम्पत्ति शुद्धीकरण र प्रकाश पौडेल राजस्व अनुसन्धान विभागमा ल्याउँदाको कालोधन लगानी गरेर बिचौलिया तारा सापकोटाले अहिले बानेश्वरमा भव्य महल खडा गरिरहेको थाहा भएको छ । पौडेललाई बीचमै हटाएर झलक राम अधिकारीसँग लेनदेन मिलाएर ल्याएपछि ३३३३ नम्बरको नवीन बस्नेतको गाडीमा कमल मालपानीसँग लिएको रकम हालेर ल्याएको बताइएको छ ।
प्रचण्ड प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीअन्त्तर्गतका यी दुई विभागमा प्रचण्डपुत्री गंगा दाहालमार्फत बिचौलिया सापकोटाले गणतन्त्रको शरदचन्द्रमार्फत लक्ष्मीदेवी समक्ष नजराना पु¥याउने धन्दा निर्वाध चलेको थियो ।
कालोधनका कारोबारीहरूलाई यसरी चोख्याउने कारखानाका रूपमा सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई प्रयोग गरिरहने र भाषणमा चाहिँ ग्रे–लिस्टबाट बाहिर निकाल्ने प्रक्रिया थालिएको भाषणबाजी गरिए पनि मुलुकमा कालोधनको कारोबार झन् बढ्दै गएको देखिएको छ । झलकरामलाई अध्यागमनमा लगेपछि परेको काण्डमा बल्लबल्ल जोगाएका थिए ।