काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफूले कार्यभार सम्मालेको एक वर्षको अवधिमा उच्च पुँजीगत खर्च गर्न सफल भएको बताएका छन् ।
एक वर्षको अवधिमा भएका कार्यसम्पादन एवं उपलब्धिहरूबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले बितेका छ वर्षको तुलनामा सबैभन्दा बढी खर्च खर्च गरेको बताए । उनका अनुसार मन्त्रालयको विगत छ वर्षको पुँजीगत खर्च तुलना गर्दा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी ७६ दशमलव ४१ प्रतिशत प्रगति भएको छ । जुन औसत राष्ट्रिय पुँजीगत खर्चभन्दा करिब १३ प्रतिशत बढी भएको उनले जानकारी दिए ।
यस्तै, उनले गत वर्षमा नै हुम्ला जिल्ला समेत गरी सबै जिल्लाहरूमा राष्ट्रिय सडक सञ्जाल पुर्याइएको बताए । मन्त्री दाहालले नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य पूरा भई सञ्चालनमा अवस्थामा पुगेको, सिद्धबाबा सुरुङ मार्ग ब्रेक थ्रु भएको, ग्वार्को फ्लाई ओरभ सञ्चालनमा ल्याईएको, त्रिदेशीय कोेरिडोरको रुपमा रहेको किमाथांका सम्म ट्र्याक खुल्ला गरिएको, ६ वर्ष यताकै उच्च पुँजीगत खर्च भएको लगायतका विषयलाई आफ्नो एक वर्षको उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
यसैगरी उनले एक वर्षको अवधिमा लक्ष्यभन्दा बढी सडक कालोपत्रे गरिएको बताए । नौ सय ३० किमी कालोपत्रे गर्ने लक्ष्य रहेकोमा नौ सय ३२ किमी कालोपत्रे सम्पन्न भएको छ । हुलाकी राजमार्गको विभिन्न खण्डहरूमा कुल ७५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ९२ दशमलव पाँच किमी, कालीगण्डकी कोेरिडोरको ५० किमी सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ७१ किमी, मदन भण्डारी राजमार्गको विभिन्न खण्डमा ३० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेकोमा ५० दशमलव पाँच किमी सडक कालोपत्रे भएको हो । यस्तै, कर्णाली कोेरिडोरअन्तर्गत समेत हिल्सा सिमिकोट सडक खण्डमा २० किमी सडक ग्राभेल गर्ने लक्ष्य रहेकोमा लक्ष्यबमोजिम काम सम्पन्न भएको जनाइएको छ । मन्त्रालयका कुल ६७ वटा बजेट उपशीर्षकमध्ये २५ वटा उपशीर्षकमा ९० प्रतिशतभन्दा बढी प्रगति हासिल भएको छ । यही अवधिमा ग्वार्को फ्लाइओभर पनि सञ्चालनमा आएको छ ।
रुग्ण ठेक्का व्यवस्थापनमा उपलब्धि
मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरूको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएर काम गरेको जनाएको छ । आयोजनाहरू सुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटीको अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको संख्या उल्लेख्य मात्रामा घटाइएको हो । रुग्ण ठेक्काहरूको अध्ययनबाट कुल पाँच सय ८६ ठेक्काहरू पहिचान गरिएकोमा एक वर्षभित्र एक सय २० ओटा रुग्ण ठेक्का तोडिएको, एक सय ५१ ओटा रुग्ण ठेक्काहरूको समस्याको प्रकृतिअनुसार समाधान प्रक्रिया अघि बढाइएको र बाँकी रुग्ण ठेक्काहरूको उचित निकासका लागि थप अध्ययन भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए ।
रेल विभागः ट्रयाकबेड, वासिङ्पिट, फ्युलिङ् स्टेसन निर्माण
पूर्वपश्चिम रेलमार्गको महोत्तरी बर्दिवास चोचा खण्डमा यस वर्ष तीन दशमलव ६१ किमी ट्रयाक बेड निर्माण सम्पन्न भई हालसम्म कुल ६८ दशमलव ६१ ट्रयाक बेड निर्माण कार्य सम्पन्न भएको छ । यस्तै, जयनगर जनकपुर भंगाहा रेलमार्गको लागि वासिङ पिट, फ्युलिङ् स्टेसन तथा कुर्था स्टेसनमा वेयरहाउस निर्माण कार्य सम्पन्न भएको छ । भंगाहा बर्दिवास रेलमार्गको धनुषा जिल्लामा रहेको खण्डमा विद्युतीय क्रसिङको अन्डरग्राउन्ड गर्ने कार्य सम्पन्न भएको छ भने बर्दिवास–चोचा रेलमार्ग खण्डमा तीन वटा रेलपुल निर्माण कार्य सम्पन्न भईसकेको जनाइएको छ ।
यातायात व्यवस्था विभागः चालक अनुमति वितरण सरल
यातायात व्यवस्था विभागमार्फत वैदेशिक रोजगार, वैदेशिक अध्ययन अन्तर्राष्ट्रिय शान्ति मिसन र कूटनीतिक नियोगमा खटिने पदाधिकारी र नागरिकलाई आवश्यक सवारी चालक अनुमतिपत्र छपाइलाई व्यवस्थित तुल्याउन अत्यावश्यक चालक अनुमतिपत्र छपाइसम्बन्धी निर्देशिका, २०८१ कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।
यस्तै, इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गरी कार्यान्वयन गरिएको, नागढुङ्गा(काठमाडौं)–सिस्नेखोला (धादिङ) सुरुङ मार्गमा यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ स्वीकृत भएको छ । सवारी चालक अनुमति पत्र छपाइको सम्बन्धमा भने सुरक्षण मुद्रण केन्द्रवाट क्युआर प्रविधिमा आधारित सवारी चालक अनुमतिपत्र छपाइ गर्ने गरी समझदारी सम्पन्न भई कार्य अगाडि बढाइएको छ । यस्तै, सवारी चालक अनुमति पत्रको वितरण कार्यलाई व्यवस्थित र सेवा प्रवाहलाई परिष्कृत गर्ने प्रयोजनका लागि टोकन प्रणाली लागू गरिएको छ ।
सवारी चालक अनुमतिपत्रसम्बन्धी देशभर एउटै मापदण्ड बनाउन स्टान्डर्ड आर्ट वर्क डिजाइन स्वीकृत भएको साथै प्रदेशस्तरबाटै सवारी चालक अनुमतिपत्र छपाइ कार्यलाई सहजीकरण गर्न सवारी चालक अनुमतिपत्र र प्रिन्टरको रिफरेन्स स्पेसिफिकेसन तयार गरी प्रदेशमा पत्राचार गरिएको छ । यस्तै, सवारी चालक अनुमतिपत्र नागरिक एपबाट देखाउन मिल्ने र ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टममार्फत इ–चलान (डिजिटल चिट) काट्न मिल्ने गरी ट्राफिक प्रहरीबाट सञ्चालित टीभीआरएस प्रणालीसँग आबद्ध गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा द्रूत मर्मतको प्रबन्ध
मन्त्रालयले मनसुनको समय सुरु भइसकेकाले बाढी–पहिरोका कारण सडक तथा पूर्वाधारमा क्षति भएमा द्रूत मर्मतको प्रबन्ध गरेको जनाएको छ । कुनै पनि स्थानमा बाढी तथा पहिरो गई सडक अवरुद्ध भएमा विशेष परिस्थितिबाहेक आधा घण्टाभित्रमा यन्त्र तथा उपकरण पुर्याउने र बढीमा दुई घण्टाभित्रमा सवारी आवागमन सुचारु गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै, गत वर्षको असोजमा आएको अविरल वर्षाले क्षतिग्रस्त बीपी, अरनिको, मेची, कान्ति, त्रिभुवन, पृथ्वी राजमार्गलगायत देशका विभिन्न राष्ट्रिय राजमार्गहरूको शीघ्र मर्मत तथा पुनर्स्थापना गरी तत्काल सवारी साधन सञ्चालनको व्यवस्था मिलाई सवारी आवागमनलाई सहज बनाइएको छ । २०८०/८१ मा विकास निर्माणका आयोजनामा दायित्व सिर्जना भई सोही आवमा भुक्तानी दिन बाँकी कुल दायित्व रकम आठ अर्ब ६६ करोड रुपैयाँ दोस्रो त्रैमासिक अवधि भित्रै भुक्तानी दिइएको थियो । साथै, गत आव २०८१/८२ को भुक्तानी दायित्व अत्यन्त न्यून मात्र बाँकी रहेको मन्त्रालयले जनाएको छ ।