काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)बाट वार्षिकरूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।
आईक्यानले आर्थिक वर्ष २०२३/०२४मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२/०२३मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेका थिए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखापरीक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए । बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा)ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बीपीए अवार्डका लागि समेत मनोनीत हुनेछ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको दुई सय ६८ वटा शाखा र तीन सय २१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।