काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड लगातार दोस्रो पटक जितेको छ। शनिबार सिंगापुरमा आयोजित आइसिसीको वार्षिक सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) लाई यो अवार्ड प्रदान गरिएको हो। अवार्ड ग्रहण गर्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का सहभागी थिए। यसअघिनै नेपाल एसियाली क्षेत्रको विजेताका रूपमा मनोनयनमा परेको थियो। मनोनयनमा नेपालसँगै अफ्रिकाबाट नामिबिया, अमेरिकाबाट बर्मुडा, र पूर्वी एसिया प्रशान्तबाट इन्डोनेसिया परेका थिए। पारस खड्काको प्रभावशाली सम्बोधन सम्मेलनमा सहभागी भएका पूर्व कप्तान र वर्तमान क्यान सचिव पारस खड्काले नेपाली क्रिकेटको यात्रा, हालको अवस्था र भविष्य योजनाबारे दमदार प्रस्तुति दिए। उनले नेपाल छिट्टै टेस्ट राष्ट्र बन्ने लक्ष्य लिएर योजनाबद्धरूपमा अघि बढिरहेको प्रस्ट पारेका थिए ।पारसले संवोधनका क्रममा भनेका थिए , “नेपालले दुई पटक T20 विश्वकप खेलिसकेको छ, एनपीएलको सफलता, महिला क्रिकेटको प्राथमिकता, र ग्रासरुट तहको विस्तारले टेस्ट राष्ट्रतर्फको बाटो सहज बनाएको छ।” पारसले नेपाली क्रिकेटको २० वर्षे यात्रालाई ‘अविश्वसनीय’ भनी सम्बोधन गर्दै अहिलेको अवस्थासम्म आइपुग्न डिभिजन फाइभदेखि ओडीआई राष्ट्रसम्मको संघर्ष स्मरण गरेका थिए।उनले एनपीएललाई रूपान्तरणकारी क्षण ठहर गर्दै भने,“एनपीएलले अन्तर्राष्ट्रिय ध्यान खिच्यो, जसमा शिखर धवन, जिमी निसमले सहभागी भए र ब्रायन लाराजस्ता महान व्यक्तित्व नेपाल आए। ट्रफीमा सगरमाथाको ढुंगा राखेर जलवायु सन्देश पनि दिन खोज्यौं।” पारसले महिला क्रिकेट, उमेर समूहको प्रदर्शन, र सरकारको लगानी विषयमा पनि चर्चा गर्दै आइसिसीको थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए । नेपालको आगामी लक्ष्यः टेस्ट राष्ट्र नेपालले रेड बल फर्म्याटमा घरेलु क्रिकेट सुरू गरिसकेको र फोर्ड लाइटसहितको रंगशाला निर्माण भइरहेका सन्दर्भ प्रस्तुत गर्दै पारसले भने,“अब हाम्रो ध्यान टेस्ट क्रिकेटतर्फ केन्द्रित छ। यो हाम्रो मात्र सपना होइन, प्रतिबद्धता पनि हो।” निष्कर्षतः, नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जित्नु मात्र होइन, विश्व क्रिकेटमा छिट्टै टेस्ट राष्ट्र बन्ने दाबीले सम्मेलनमा नेपाली क्रिकेटको हैसियत झल्कायो। पारसको आत्मविश्वास र योजना देख्दा, नेपाली क्रिकेटको भविष्य उज्यालो देखिन्छ।