काठमाडौं , किशोरीहरूलाई आर्थिक प्रलोभनमा पारी डिम्ब बेचबिखन गर्ने कार्यमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिकका सञ्चालकसहित पाँच जनाविरुद्ध बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरिएको छ।प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानमाथि मुद्दा दर्ता गरिएको हो। जस्टिना किशोरी आपूर्ति गर्ने बिचौलिया भएको खुलासा भएको छ।
१८ वर्षमुनिका किशोरीहरूलाई १० हजार रुपैयाँ दिने प्रलोभनमा राखी डिम्ब निकालिएको र त्यसपछि उनीहरूमा गम्भीर स्वास्थ्य समस्या देखिएपछि उजुरी दिइएको सीआईबीले जनाएको छ।डिम्ब निकाल्ने प्रक्रियामा उनीहरूलाई दिनहुँ इन्जेक्सन दिइएको थियो। अनुसन्धानपछि अदालतले आरोपितलाई हाजिरी जमानीमा रिहा गरे पनि बालबालिका कसुरअनुसार छानबिन जारी छ। नेपालमा डिम्बदानसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा यस्ता गतिविधि बढ्दै गएको भन्दै सीआईबीले अन्य आईभीएफ केन्द्रहरूलाई पनि निगरानीमा राखेको छ।