काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थ भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएपछि सरकारले सो कार्यालयमा कार्यरत कर्मचारी हेरफेर गरेको छ । बढ्दै गएको बेथिति सुधारका लागि भन्दै गृह मन्त्रालयले सहसचिव नरहरि घिमिरेको नेतृत्वमा ४५ जना नयाँ शाखा अधिकृतलाई अध्यागमन कार्यालयको जिम्मा दिएर पठाएको छ ।
गृह मन्त्रालयले हालै लोकसेवा आयोग पास गरी आएका ४५ जना शाखा अधिकृतलाई सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा खटाएको हो । अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले सोमबारदेखि अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत विमानस्थलमा खटिएको बताए । ‘लोकसेवाबाट आएका अधिकृतहरूलाई तीन दिने साधारणदेखि प्राविधिक तालिम दिएर विमानस्थल अध्यागमनमा खटाएको छ,’ उनले भने ।
विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा सरुवा भएका घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ताको रूपमा काम गरिसकेका सहसचिव हुन् । केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले ४५ जना शाखा अधिकृत अध्यागमनमा खटिएको र सोही संख्यामा शाखा अधिकृत मन्त्रालय तानिएको जनाएको छ ।
अध्यागमन कार्यालयबारे नागरिकको राम्रो बुझाइ नभएको तथा त्यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने भन्दै गृहमन्त्री रमेश लेखकले मन्त्रालयका कर्मचारीलाई सुधार गर्न निर्देशन दिँदै आएका थिए ।
मन्त्री लेखकले विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरी अध्यागमन कार्यालय र विमानस्थलको छवि राम्रो बनाउन कर्मचारीहरूलाई निर्देशन दिएका थिए । त्रिभुवन विमानस्थल मुलुकको छविको पनि विषय भएको हुँदा त्यहाँबाट आउने/जाने नागरिकहरूमा स्वदेशी र विदेशी दुवै हुने हुँदा राम्रो व्यवहार देखाउन आवश्यक रहेकाले सुधार गर्न निर्देशन भएअनुरूप हालको काम अर्थात् नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिएको अध्यागमन विभागका एक अधिकारीले बताए ।
भिजिट भिसाको नाममा पैसा लिएर मानिस पठाएको आरोपमा तत्कालीन प्रमुख भट्टराईमाथि अख्तियारले अनुसन्धान गरेको थियो । त्यस्तै, सरकारले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरेको छ । उक्त समितिलाई विदेश जाने–आउने व्यक्तिको यात्रा सहजीकरण सम्बन्धमा अध्ययन विश्लेषण तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्तुत गर्नेलगायत कार्यादेश छ ।