काठमाडौं । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठबीच भएको घुस लेनदेनको अडियो आर्थिक दैनिकले सार्वजनिक गरेपछि केही मिडियाको दूषित प्रयासमा बिचौलिया भनेर बदनाम गरिएका सुकुम्बासी सुजन लामासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बयान लिएको छ । साथै, सोमबार नै आवाजको परीक्षण पनि गरिएको छ ।
अख्तियारमा कार्यरत एसएसपी मोहन थापाले पीडित लामासँग बयान लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार बयानका क्रममा पीडित लामाले सार्वजनिक भएको अडियो सक्कली भएको र मन्त्रीहरू नै संलग्न रहेर आर्थिक लेनदेनमा कर्मचारी सरुवा र जग्गा दर्ता गर्नेजस्ता अनियमित कार्य हुने गरेको थाहा पाएपछि उनीहरूको गतिविधिको आफूले रेकर्ड गरेको बताएका छन् । लामाको बयान सोमबार सकिएपछि घुस काण्डमा परेर राजीनामा दिएका मन्त्री गुप्ताको मंगलबारदेखि फेरि बयान सुरु हुने बुझिएको छ ।