काठमाडौं । चुक्ता पुँजीका हिसाबले नेपाली बैंक तथा वित्तीय संस्थाहरू बलियो बन्दै गएका छन् । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय सुदृढता मापन गर्दा चुक्ता पुँजीलाई महत्वपूर्ण सूचकको रूपमा लिँदै आएको छ । अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब ४३ अर्ब रुपैयाँ नाघेको छ ।
बैंकहरूको चुक्ता पुँजी प्रत्येक वर्ष बढ्दै गएको तथ्यले पनि बैंकिङ प्रणालीको सुदृढता पुष्टि गर्छ । चुक्ता पुँजीको वृद्धिले बैंक तथा वित्तीय संस्थाको जोखिम बहन क्षमता बढाउने मात्र नभई कर्जा प्रवाह गर्न सक्ने क्षमता तथा आम नागरिकको विश्वास पनि बढाउनेछ ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८२ जेठ मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संंस्थाहरूको कुल चुक्ता पुँजी चार खर्ब ४३ अर्ब ६२ करोड २० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा सात अर्ब २१ करोड ५० लाख रुपैयाँ बढी हो । २०८१ जेठमा सबै बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब ३६ अर्ब ४० करोड ७० लाख रुपैयाँ थियो ।
२०८२ जेठ मसान्तसम्म २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी तीन खर्ब ८५ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा छ अर्ब ३० करोड ७० लाख रुपैयाँ बढी हो । २०८१ जेठ मसान्तमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७९ अर्ब दुई करोड रुपैयाँ थियो । यस्तै, सञ्चालनमा रहेका १७ वटा विकास बैंकको चुक्ता पुँजी २०८२ जेठ मसान्तसम्म ४३ अर्ब दुई करोड ४० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा ८५ करोड ३० लाख रुपैयाँ बढी हो । २०८१ जेठ मसान्तमा विकास बैंकहरूको यस्तो चुक्ता पुँजी ४२ अर्ब १७ करोड १० लाख रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी पनि २०८२ जेठ मसान्तमा १५ अर्ब २७ करोड १० लाख रुपैयाँ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा पाँच करोड ५० लाख रुपैयाँ धेरै हो । २०८१ जेठ मसान्तमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ थियो ।
यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या छ हजार पाँच सय १८ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ९५, विकास बैंकहरूको एक हजार एक सय ३२ र फाइनान्स कम्पनीहरूको दुई सय ९१ वटा शाखा कार्यालय सञ्चालनमा छन् । जुन २०८१ जेठ मसान्तमा छ हजार चार सय ५२ थियो । जसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ३० वटा, विकास बैंकहरूको एक हजार एक सय ३४ वटा र फाइनान्स कम्पनीहरूको दुई सय ८८ वटा शाखा सञ्चालनमा थिए ।
बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका कुल एटीएम काउन्टरको संंख्या पाँच हजार दुई सय ६५ वटा पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार आठ सय ८०, विकास बैंकहरूको तीन सय ४४ र फाइनान्स कम्पनीहरूको ४१ वटा छन् । २०८१ जेठ मसान्तमा कुल पाँच हजार एक सय ८२ वटा एटीएम काउन्टर सञ्चालनमा थिए । जसमध्ये वाणिज्य बैंकहरूको चार हजार सात सय ९०, विकास बैंकहरूको तीन सय ४८ र फाइनान्स कम्पनीहरूको ४४ वटा एटीएम काउन्टर सञ्चालनमा थिए ।