काठमाडौं । कुख्यात सेयर कारोबारी दीपेन्द्र अग्रवाल ठगीको आरोपमा पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ठगीको आरोपमा अग्रवाललाई सोमबार टोखाबाट पक्राउ गरेको हो ।
विगत लामो समयदेखि सामाजिक सञ्जालमा सेयर लगानीकर्तालाई ‘मिसलिड’ गर्ने, सेयरको भित्री कारोबार गर्ने, बढ्नै नपर्ने कम्पनीको सेयरमूल्य कृत्रिमरूपमा बढाउन चलखेल गर्नेलगायतका आरोप उनीविरुद्ध लागेको छ । पक्राउ परेका अग्रवालविरुद्ध ठगी र विश्वासघात कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रहरीका अनुसार लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई झण्डै २२ करोड रुपैयाँ ठगी गरेको अभियोग अग्रवालमाथि लागेको छ । ठगीका सम्बन्धमा उनीविरुद्ध अन्य उजुरीहरू पनि रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अग्रवालले एकैजना व्यक्तिबाट करिब साढे छ करोड रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको छ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको प्रहरीको भनाइ छ ।
अग्रवालले सेयर दिलाइदिन्छु भन्दै साहसँग सो पैसा लिएको र पछि सेयर पनि नदिएको र रकम पनि फिर्ता नदिएपछि उनीविरुद्ध प्रहरी परिसर काठमाडौंमा उजुरी परेको थियो । सोही मुद्दाका आधारमा प्रहरीले असार ३० गते अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीका आधारमा सोमबार काठमाडौंको टोखाबाट प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो ।
मोरङको विराटनगर महानगरपालिका–९ स्थायी घर भएका ४२ वर्षीय अग्रवाल काठमाडौं महानगरपालिका–१४ बस्दै आएका छन् । उनले सेयर कारोबारको लागि मात्र १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता चलाउने गरेको पनि प्रहरीले जानकारी दिएको छ ।