काठमाडौं । सबैले चाहेको र खोजेको नै विकास हो । विकास कुनै एक व्यक्ति वा समूहले मात्र चाहेको हुँदैन । यसको चाहना राज्यले समेत राखेको हुन्छ । त्यस कारण राज्यले विकासको लागि विभिन्न नीतिहरू लागू गरेको हुन्छ र कार्यान्वयन पनि गरेको हुन्छ । विकास गर्ने माध्यम भनेका नै नीतिहरू र तिनीहरूको सफल कार्यान्वयन नै हुन् ।
निश्चय नै विकासलाई बृहत्रुपमा लिइएको पाइन्छ । यसको विस्तृत क्षेत्र भएको हुनाले कुनै क्षेत्र, स्थान, समूह वा व्यक्तिमा सीमित गर्न सकिँदैन । विकास यस्तो शब्द हो जो कसैलाई पनि मन परेकै हुन्छ । एउटा भुइँमान्छेको लागि पनि विकास चाहिएको हुन्छ भने खर्बपतिलाई पनि विकास चाहिएकै हुन्छ ।
सामान्य अर्थमा विकासलाई अपेक्षा र यथार्थको बीचमा रहेको खाडल भन्ने बुझिन्छ । विकास भनेको सकारात्मक परिवर्तन पनि हो । मानिसको जीवनशैलीमा कुनै सकारात्मक परिवर्तन आयो भने त्यो उसको लागि विकास हो । विकास भनेको एकप्रकारको वृद्धि पनि हो र वृद्धि मानवीय हितको लागि हुनु पर्दछ । यस्तो विकास वा वृद्धिले सकारात्मक परिवर्तन ल्याएको हुन्छ ।
विकास भन्नाले मूलतः आर्थिक, सामाजिक, सांस्कृतिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन आउनु हो । त्यस कारण विकास भन्नेबित्तिकै सबै क्षेत्रको विकास हो भन्ने बुझ्नु पर्दछ र यसमा विभिन्न विचार आएका पनि छन् । कसैले समुन्नत आर्थिक वृद्धिलाई लिएका छन् भने कसैले सामाजिक समुन्नतिलाई विकास भन्ने गरेका छन् । त्यसैगरी कतिपयले सांस्कृतिक क्षेत्रको विकासलाई जोड दिएका छन् । यसरी हेर्दा कुनै एक क्षेत्रको विकासलाई मात्र आधार लिएर देशको विकासको अवस्था आकलन गर्न सकिँदैन । सबै क्षेत्रहरूको समानरुपले प्रगति वा समृद्धि हुन सक्यो भने मात्र विकासको सही अर्थ हुन सक्दछ ।
अर्कोतर्फ मानिसको जीवनसँग विकास जोडिएको हुन्छ र विकास आर्थिक, सामाजिक, सांस्कृतिकजस्ता अनेक क्षेत्रसँग सम्बन्धित हुन्छ पनि । त्यस कारण अहिले हामीले खोजेको विकासलाई कुनै सीमाभित्र राख्न सकिँदैन । अर्को कुरा विकास भन्ने यस्तो शब्द हो जसको कहिल्यै अन्त्य हुँदैन र अघि बढिरहेकै हुन्छ । त्यसलै विकासलाई निरन्तर चलिरहने प्रक्रिया भनिन्छ । विकास अवरुद्ध हुनु हुँदैन । अवरुद्ध भएको अवस्थामा मानिसको प्रगति हुन सक्दैन र जीवन कष्टकर बन्दै जान्छ । विकास भन्नाले आर्थिक, सामाजिक, सांस्कतिक, राजनीतिकलगायत सबै क्षेत्रको समुन्नत अवस्था हो जसले मानिसको जीवनस्तरलाई उच्च तहमा पुर्याउँछ ।
यी अवयवहरूमध्ये पनि आर्थिक पक्षको ठूलो योगदान रहेको हुन्छ । किनभने गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता मानवीय आधारभूत आवश्यकता पूरा गर्ने कार्य आर्थिक पक्षले नै गरेको हुन्छ र विकासको लागि त्यस देशको आर्थिक संरचनाले पनि महत्वपूर्ण भूमिका लिएको हुन्छ ।
विकास सहजरुपमा हुने पनि होइन र यसको प्राप्तिको लागि निरन्तर लागि नै रहनु पर्दछ । विकासलाई अवरुद्ध गर्ने कार्य मूलतः आर्थिक, वित्तीय तथा भौतिक साधन स्रोत नै हुन् । यिनीहरू सीमित हुने र जनताको अपेक्षा असीमित हुने कारणले गर्दा समन्वय गर्न कठिन हुने गर्दछ । यिनीहरूको समन्वय गरेर दूरी कम गर्न सकियो भने विकास भएको भन्न सकिन्छ । जति दूरी कम गर्न सकियो उति विकास भएको हुन्छ । अर्थात् जनताका आवश्यकता र अपेक्षा पूरा भएका हुन्छन् ।
नेपालजस्तो अल्पविकसित देशमा अर्थतन्त्रको भूमिका महत्वपूर्ण हुने भएकोले अर्थतन्त्रको संरचनामा परिवर्तन नगरी विकास अघि बढ्न सक्दैन । विकासको कुरा गर्नासाथ आर्थिक पक्ष अघि आइहाल्दछ । पैसा भएन भने उद्योगी व्यवसायीले संगठन सन्चालन गर्न सक्दैनन् । आवश्यक पर्ने वस्तु तथा सामान तथा उपकरण खरिद गर्न पनि सम्भव हुँदैन । कर्मचारीले तलब र मजदुरले ज्याला पाउन सक्दैनन् । सरकारले लक्ष्यअनुसार कर असुल गर्न सक्दैन । अन्ततः विकास हुन सक्दैन र विकास अवरुद्ध हुन पुग्दछ । त्यस कारण सीमित साधन स्रोतको न्यूनतम प्रयोग गरेर अधिकतम उपलब्धि प्राप्त गर्न सक्नु नै वित्तीय साधनको उद्देश्य हुन आउँछ ।
अहिलेको भौतिक विकासलाई हेर्दा केही विकास भएको निश्चय नै हो । दुर्गम गाउँघरमा समेत भौतिक विकास भएको देखिन्छ । देशको अधिकांश भू–भागमा सडक पुगेको छ । शिक्षा, स्वास्थ्य, विद्युत्जस्ता विकासका आधारहरू निर्माण भएका देखिन्छन् । आफ्नै घरमा बसेर शिक्षा हासिल गर्न सकिन्छ । स्वास्थ्य सुविधा पनि पु¥याइएकै छन् । जनताको घरदैलोमा स्थानीय सरकारहरू स्थापना भएका छन् । सात सय ५३ वटा स्थानीय सरकार जनतालाई सेवा दिन र विकास निर्माण कार्य सञ्चालन गर्न निरन्तर लागि परेका छन् । जनताको नजिकको सरकार भनेका नै स्थानीय सरकार हुन् । यिनीहरूबाटै जनताको आवश्यकता र चाहनाबमोजिम विकास आयोजना तथा कार्यक्रम तर्जुमा भएका छन् । विकासको लागि आवश्यक पर्ने वित्तीय साधन स्रोत संघीय सरकार र प्रदेश सरकारबाट उपलब्ध भई नै रहेको छ । आवश्यक कानुन र जनशक्तिको व्यवस्था पनि उपलब्ध भएकै छन् । यसरी हेर्दा जनताले खोजेको विकास हुनुपर्ने हो । तर, जनताको मनछुने गरी विकास पुगेको देखिँदैन । अर्थात् देखिएको जुन विकास छ त्यसले जनतालाई कति प्रभाव पारेको छ र उनीहरूको जीवनस्तरमा कति सुधार भएको छ, त्यो नै अध्ययनको मुख्य विषय हुनुपर्ने देखिन्छ ।
विकास देखिँदैमा विकास भएको हुँदैन । यदि जनताको जीवनस्तर सुध्रिएको छ भने त्यसलाई विकास भन्न सकिन्छ अन्यथा सकिँदैन । विकासको प्रतिफल तल्लो तहसम्म पुग्न पर्दछ । विकासको आवश्यकता भनेको नै पीँधमा रहेका जनताको लागि हो । तर, अहिले त्यो अवस्था देखिँदैन । किनभने जनताको जीवनस्तरमा खासै सुधार आउन सकेको छैन । प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलरभन्दा माथि जान सकेको छैन । गरिबीको रेखामुनिको संख्या २० प्रतिशतको हाराहारीमा पुगेको छ । गरिबी घटाउने भनी प्रत्येक आवधिक योजनामा लक्ष्य निर्धारण गरिन्छन्, तर गरिबी घट्न सकेको छैन । लक्ष्य मात्र राखेर केही हुँदैन । कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ । त्यसैले होला गरिबीमा तात्विक सुधार नआएको हुनाले प्रत्येक आवधिक योजनामा गरिबी घटाउने भनी लक्ष्य निर्धारण गरिएको हुन्छ । अहिलेसम्म पनि पुनरावृत्ति भई नै रहेको अवस्था छ । त्यस कारण केही विकास देखिए पनि जनताले अनुभूति पाउने गरी विकास भएको देखिँदैन ।
विकास नभएको होइन भएको छ तर लक्षित वर्गमा पुग्न सकेको छैन । असन्तुलित किसिमबाट भएको विकासले निश्चित वर्ग त लाभान्वित भएको हुन सक्छ तर विकासबाट वञ्चित भएको जुन वर्ग छ उसले विकासको प्रतिफल प्राप्त गर्न सकेको छैन । यस प्रकारको विकासले समाज हुने र नहुने गरी वर्ग विभाजन गरिदिन्छ । त्यस कारण विकासलाई लक्षित वर्गसम्म पुर्याउनु पर्दछ र उनीहरूको चाहना र आवश्यकताअनुरुप विकास निर्माण प्रक्रिया अघि बढाउनु पर्दछ ।
जनतालाई विकास निर्माण प्रक्रियामा सहभागी गराउन र तल्लो तहदेखि नै विकास निर्माण कार्य सञ्चालन गर्न संघीय लोकतान्त्रिक गणतन्त्रमत्मक शासन प्रणाली लागू गरियो । यो शासकीय प्रणालीमा खास गरेर राज्यको सबै भू–भागको विकास समान किसिमबाट गरिने हुन्छ । राज्यको सबै भू–भागमा सरकारको उपस्थिति पु¥याउनको लागि तल्लो तहमा शासकीयस्वरुपको संरचना फराकिलो बनाइएको छ । एक लाख ४७ हजार वर्ग किलोमिटर भएको एउटा सानो देशको विकास गर्नको लागि यति धेरै सरकारहरू स्थापना गरिएका भए पनि भुइँमान्छेलाई विकासले छुन सकेको छैन । यस्ता कमीकमजोरीहरूलाई न्यूनीकरण गरेर भुइँमान्छेले विकासको अनभूति गर्न सक्नु पर्दछ ।
विकासको मोडेल विभिन्न हुने भए पनि नेपालले अपनाएको मोडेल एकदम उपयुक्त छ । कार्यान्वयनमा कमजोरी भएको हुनाले नै विकासले वाञ्छनीय उपलब्धि दिन नसकेको हो । विकास मूलतः योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा आधारित हुन्छ । योजना तर्जुमा गर्दा पीँधमा रहेका जनताको अनुहार हेरेर गर्नु पर्नेमा पहुँचको आधारमा जथाभावी किसिमले तर्जुमा गरिँदा एकातिर सीमित साधन स्रोतको फजुल खर्च भएको देखिन्छ भने अर्कोतर्फ जनता विकास प्रक्रियाबाट वञ्चित हुनुपरेको अवस्था छ ।
योजना कार्यान्वयन समयजन्य र लागतजन्य हुनगएका देखिन्छन् । समयमा योजनाको अनुगमन तथा मूल्यांकन प्रभावकारी नभएको हुनाले योजना कार्यान्वयनमा भएका कमीकमजोरी र त्रुटिहरूमा सुधार हुन सकेका छैनन् । यसरी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा धेरै सुधारको आवश्यकता देखिएको छ ।
हामी अहिले संघीय शासन प्रणालीमा छौँ । संघीय शासन प्रणालीमा विकास तलदेखि माथि बढ्दै जाने हो । तर, हामी भने अझै पनि संघीयताको मर्म नबुझेर कतिपय अवस्थामा केन्द्रको भर पर्नुपर्ने अवस्था रहेको छ । वर्तमान अवस्थामा स्थानीय सरकारहरूले स्वतन्त्ररुपमा कार्य गर्न नपाएको र केन्द्रको आदेशमा चल्नुपर्ने भन्ने गुनासाहरू आई नै रहेका छन् । त्यस कारण स्थानीय सरकारहरूलाई स्वतन्त्र रुपले आत्मनिर्भर हुनेगरी कार्य गर्ने वातावरण निर्माण गरिनु पर्दछ । माथिबाट विकास झर्नेभन्दा पनि तलैदेखि माथि जाने विकास अहिलेको आवश्यकता हो ।
स्थानीय तहमा विकास नपुगेको भन्न सकिँदैन । विकास पुगेको छ तर, व्यवस्थित किसिमको देखिँदैन । जथाभावी सडक निर्माण गरिने प्रथाको अन्त्य हुन सकेको देखिँदैन । जनताको आवश्यकता र चाहनाअनुसारका आयोजनाहरू निर्माण हुन नसक्दा सीमित साधन स्रोतको खर्च मात्र हुन गएको छ । त्यसबाट प्राप्त हुनुपर्ने उपलब्धि देखिँदैन । पहुँचको आधारमा आयोजना सञ्चालन हुँदा लक्षित वर्गमा विकास पुग्न नसकेको हुनाले विकासको प्रतिफलबाट ठूलो समुदाय वञ्चित हुनुपरेको छ ।
जनताले खोजेको विकास भनेको आर्थिक समृद्धि, उन्नति र प्रगति हो । के यो भइरहेको छ त ? निश्चय नै जनताले खोजेको जस्तो छैन । अहिलेको विकासले कसलाई फाइदा दिएको छ भन्ने अनुसन्धानकोे विषय बन्न गएको छ । त्यस कारण विकास एवं निर्माण कार्यलाई कुनै निश्चित वर्ग वा क्षेत्रको पहुँच हुनेभन्दा पनि पीँधमा रहेका जनताको अनुहार र अवस्थालाई हेरेर विकासलाई अघि बढाउनु पर्दछ । यही नै हो जनताले खोजेको विकास । (लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन्)