काठमाडौं । महेश कुमार श्रेष्ठ नेतृत्वको को गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौंमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ ।
श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौंमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आईसीसीका महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए । नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने उनले बताए । सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैर–आवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ । यसैगरी, अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गरिने भएको छ । त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोकिएको महासचिव लामाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगस्टमा हुने युरोप भ्रमण पनि स्वीकृत गरेको छ । अगस्टमै युरोपस्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने संघका प्रवक्ता गंगाधर गौतमले बताए । यस्तै, सेप्टेम्बरमा आईसीसीले विशेष साधारणसभा गर्ने निर्णय पनि गरेको छ । युएईमा सेप्टेम्बर २१ मा साधारणसभा गरी विधानमा अहिले देखिएका बाधाहरू फुकाइने संघले जनाएको छ ।