काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा प्रणालीमा आमूल सुधार गरिएको दाबी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले अनलाइनबाट बीमाको नवीकरण हुने, दीर्घरोगमा पुनः रिफरको झन्झट हटाउने र बीमा अवधि घटाएर एक महिना बनाउने व्यवस्था मिलाइएको जानकारी दिए ।
क्यान्सर, मुटु, मिर्गौला, स्पाइनल इन्जुरीजस्ता आठ प्रकारका जटिल रोगका लागि दुई लाख रुपैयाँसम्मको सेवा बीमाअन्तर्गत उपलब्ध गराउने व्यवस्था पनि लागू भइसकेको जानकारी दिए । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले सीमित स्रोतसाधनका बीच पनि मन्त्रालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए । आधारभूत अस्पताल सञ्चालन, डेङ्गी सङ्क्रमण नियन्त्रण, एचपीभी खोप अभियान, विपद् व्यवस्थापन, आपतकालीन तयारी, कर्मचारी समायोजनलगायत मुद्दामा तीन तहबीच सहकार्य गर्दै समस्या समाधानमा स्पष्टता ल्याइएको उनले जानकारी दिए ।
मन्त्रालय मातहतको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत दुई हजार एक सय नयाँ जनशक्ति थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र एक दर्जनभन्दा बढी नयाँ विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको उनले बताए ।