काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित हकप्रद शेयर बिक्री गर्नै भएको छ । कम्पनीका अनुसार लिलाम बढाबढ प्रक्रियामार्फत यस्तो शेयर बिक्री गर्न लागिएको हो । कम्पनीले एक बराबर एक अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागिएको हो ।
कम्पनीले सर्वसाधारण समूहको लकइनमा नरहेको पाँच लाख ६४ हजार १० कित्ता र लकइनमा रहेको एक लाख ४० हजार एक सय एक कित्ता गरी कुल सात लाख चार हजार एक सय ११ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो । कम्पनीका अनुसार यो शेयर खरिदका लागि साउन १३ गतेदेखि २० गतेसम्म बोलपत्र पेश गर्नुपर्ने छ ।
शेयर खरिदका लागि कम्पनीले प्रतिकित्ता शेयरको न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शयर संख्याको लागि कुनै हद तोकिएको छैन ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर,कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बुटवल, बाग्लुङ्ग, घोराही–दाङ, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।