काठमाडौ । लुम्बिनी लायन्सले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोमा भगवान् बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ईपु २४९ मा स्थापना गरिएको ऐतिहासिक अशोकस्तम्भ, नेपालको राष्ट्रिय झण्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्वहरू समावेश गरिएको छ ।
‘यो लोगो केवल एक ग्राफिक चिह्न मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ’, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीले भने ‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।’ लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको जनाइएको छ ।
विसं २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम ऊर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार रहेको बताएको छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको कम्पनीको भनाइ छ ।