नयाँदिल्ली । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्यको कारणले राजीनामा दिनुपरेको उनले बताएका छन् । उनी ७४ वर्षका छन् । धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो ।
राष्ट्रपतिलाई लेखेको पत्रमा उनले लेखेका छन्, ‘स्वास्थ्यलाई प्राथमिकता दिँदै र चिकित्सा सल्लाह पालना गर्दै, म तत्काल लागू हुनेगरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिँदैछु ।’ पत्रमा उनले राष्ट्रपतिलाई उनको सहयोग र सौहार्दपूर्ण सम्बन्धको लागि धन्यवाद दिए । उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई पनि सहयोगको लागि धन्यवाद दिए ।
२०२२ मा, जगदीप धनखडले १४औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए । ६ अगस्ट २०२२ मा भएको उपराष्ट्रपति चुनावमा धनखडले विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए । धनखडले कुल सात सय २५ मध्ये पाँच सय २८ मत प्राप्त गरेका थिए भने अल्वाले एक सय ८२ मत प्राप्त गरेका थिए ।
एक महिनाअघि उत्तराखण्डमा एक कार्यक्रम पछि जगदीप धनखडको स्वास्थ्य अचानक बिग्रिएको थियो । उनलाई तुरुन्तै नैनीताल राजभवन लगियो, जहाँ डाक्टरले उनको जाँच गरे । नैनीतालको कुमाऊँ विश्वविद्यालयको स्वर्ण जयन्ती समारोहमा धनखड प्रमुख अतिथिको रूपमा पुगेका थिए ।