भादगाउँ (भक्तपुर) । बसको ठक्करबाट मंगलबार पैदलयात्री वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने बसको ठक्करले गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको बताए । ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।