काठमाडौं । नेकपा एमालेको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय पुनःभूमिकासम्बन्धी विषयमा आजै निर्णय गरिने भएको छ।पार्टीको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका अनुसार, बैठकमा अहिलेसम्म ५८ जना नेताहरूले आफ्नो धारणा राखिसकेका छन् भने ७७ जना अझै बोल्ने सूचीमा छन्। बैठकमा पार्टीको प्रस्तावित विधानअनुसार "सङ्गठित सदस्यता" र "सामान्य सदस्यता"को व्यवस्थालाई लिएर पनि गम्भीर छलफल भएको गौतमले बताए।
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा पुनःसक्रियता, पार्टी सदस्यता नवीकरण, र भविष्यमा लिन सकिने भूमिकाका विषयमा केन्द्रीय सदस्यहरूबीच फरकफरक धारणा प्रस्तुत भएको छ।गौतमका अनुसार अधिकांश नेताहरूले भण्डारीको पार्टी प्रवेश विषयलाई "सामान्य विषय होइन, गम्भीर राजनीतिक निर्णय"को रूपमा व्याख्या गरेका छन्। उनले भने, “संविधानको भाग ६ को धारा ६१ अनुसार राष्ट्रपतिको हैसियत राष्ट्रप्रमुख, राष्ट्रिय एकताको प्रतीक, र संविधानको पालक तथा संरक्षकका रूपमा व्याख्या गरिएको छ। यस्तो जिम्मेवारी सम्हालेको व्यक्तिले फेरि दलगत राजनीतिमा फर्किनु संविधानको भावना र लोकतान्त्रिक प्रणालीका लागि सन्देहजनक अभ्यास हुनसक्छ भन्ने विषयमा धेरै नेताहरूले चासो व्यक्त गरेका छन्।”
त्यस्तै, संविधानको धारा २६७ (२) मा राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति भनिएको प्रसङ्गसमेत उठाउँदै गौतमले भने, “पूर्वराष्ट्रपति दलमा फर्किनु प्राविधिक मात्र नभई गम्भीर राजनीतिक विषय हो। यसको प्रभाव जनमानस, लोकतान्त्रिक अभ्यास र संस्थागत व्यवस्थामा समेत पर्नसक्छ।” आजको बैठकको समापनतिर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै यस विषयमा अन्तिम निर्णय सुनाउने अपेक्षा गरिएको छ। गौतमले भने, “हामी पार्टीको स्पष्ट धारणा सार्वजनिक हुने प्रतीक्षामा छौँ, किनकि यो विषय पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक अभ्याससँग जोडिएको छ।”