काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारा ८ र ९ को उल्लेख गर्दै भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न नसकिने स्पष्ट पारेका हुन्। सोमबार र मंगलबार दुई दिन चलेको केन्द्रीय कमिटी बैठकको समापनमा अध्यक्ष ओलीले उक्त निर्णय सार्वजनिक गरेका थिए। उनले भण्डारी अब राजनीतिक भूमिकामा फर्कन नमिल्ने भन्दै पार्टी प्रक्रियाअनुसार निर्णय गरिएको बताए। तर यो निर्णयमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले असहमति जनाएका छन्। उनीहरूले बैठकमै 'नोट अफ डिसेन्ट' लेख्ने जानकारी दिएका छन्।पूर्वराष्ट्रपति भण्डारी एमालेकी पूर्व उपाध्यक्ष समेत हुन्। राष्ट्रपतिको कार्यकाल सकिएसँगै उनको राजनीतिक पुनः प्रवेशको चर्चा भइरहेको बेला एमालेको यो निर्णयलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।