चितवन, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता भन्दापनि सिद्धान्त र मूल्यलाई प्राथमिकता दिनुपर्ने भन्दै कांग्रेसका मन्त्रीहरूलाई ‘राजीनामा खल्तीमै बोकेर बस्न’ सुझाव दिएका छन्। बिपी कोइराला स्मृति दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रममा बोल्दै थापाले वर्तमान सत्ता गठबन्धनमा नेकपा (एमाले) सँग सहकार्य भइरहे पनि कांग्रेसका आधारभूत मूल्यमान्यतामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकारबाट एक मिनेट पनि ढिलो नगरी बाहिरिनुपर्ने बताए। ‘हाम्रा न्यूनतम मूल्य र सिद्धान्तसँग सम्झौता गर्नुपर्ने परिस्थिति आयो भने तुरुन्त सरकारबाट बाहिरिनुपर्छ,’ थापाले चेतावनी दिए। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भने, ‘तिम्रो सरकार तिमीलाई मुबारक, हामी हाम्रो बाटो लाग्छौँ।’महामन्त्री थापाले मन्त्रीहरूले कुनै गलत कामको दबाबमा परेमा तत्काल राजीनामा दिने हिम्मत राख्नुपर्ने धारणा व्यक्त गरे। ‘राजीनामा खल्तीमै बोकेर राख्नुस्, गलत काम गर्नुपर्‍यो भने प्रधानमन्त्रीको टेबुलमा फाल्न सक्नुपर्छ,’ उनले भने। थापाले पार्टी सभापतिलाई समेत मूल्य र सिद्धान्तमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकार त्याग्न तयार रहन आग्रह गरे। साथै, उनले चुनाव जित्ने मोहलाई लोभको रूपमा परिभाषित गर्दै सत्यको पक्षमा दृढतापूर्वक उभिन पार्टीका सबै नेताहरूलाई आह्वान गरे। ‘चुनावको चिन्ता गर्नु लोभी हुनु हो,’ उनले भने, ‘हामी सत्यमा छौँ भने डराउनु पर्दैन। घरभित्रको फोहोर पनि सफा गर्न तयार रहनुपर्छ।’