काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जालाई प्राथमिकतामा राखेको छ । कमजोर आर्थिक स्थिति भएका नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यसहित विपन्न वर्गसम्बन्धी कर्जालाई प्राथमिकतामा राखिए पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा घटाउँदै लगेका छन् ।
विपन्न वर्गमा प्रवाह भएको ठूलो परिमाणको कर्जा निष्क्रिय कर्जामा रुपान्तरण भएकाले बैंक तथा वित्तीय संस्थाहरूले यस्तो शीर्षकमा प्रवाह हुने कर्जा घटाएका हुन् ।
राष्ट्र बैंकका अनुसार २०८२ जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५५ खर्ब ५४ अर्ब ६४ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव २४ प्रतिशत निष्क्रिय कर्जा छ । बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कर्जा दुई खर्ब ८७ अर्ब नौ करोड ३० लाख रुपैयाँ छ । जुन कुल कर्जाको पाँच दशमलव ७४ प्रतिशत हो । विपन्न वर्गमा प्रवाह भएको यो कर्जा एक वर्षअघि (२०८१ जेठ मसान्त)को तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् २२ अर्ब ८६ करोड रुपैयाँ कम हो । गत वर्ष जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा प्रवाह गरेको कुल कर्जा तीन खर्ब नौ अर्ब ९५ करोड ५० लाख रुपैयाँ थियो । जुन कुल कर्जा प्रवाहको छ दशमलव ३८ प्रतिशत हो । गत वर्ष जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५१ खर्ब २८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ थियो । जसमध्ये तीन दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय कर्जा थियो ।
राष्ट्र बैंकका अनुसार २०८२ जेठ मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्रै कुल ४९ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव शून्य पाँच प्रतिशत कर्जा निष्क्रिय छ । यस्तै, विपन्न वर्गमा कुल कर्जाकोे पाँच दशमलव ६० प्रतिशत अर्थात् दुई खर्ब ४७ अर्ब ८६ करोड ७० लाख रुपैयाँ प्रवाह गरेका छन् । जुन २०८१ जेठ मसान्तको तुलनामा शून्य दशमलव ५२ प्रतिशत अर्थात् १५ अर्ब २० करोड १० लाख रुपैयाँ कम हो । गत वर्ष जेठसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ३२ अर्ब १८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशत निष्क्रिय कर्जा थियो । उक्त अवधिमा वाणिज्य बैंकहरूले छ दशमलव १२ प्रतिशतका दरले हुन आउने दुई खर्ब ६३ अर्ब छ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले पनि २०८२ जेठ मसान्तसम्म कुल पाँच खर्ब २० अर्ब २५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा त्यसको पाँच दशमलव ५६ प्रतिशत निष्क्रिय कर्जा छ । यस अवधिमा विकास बैंकहरूले सात दशमलव १२ प्रतिशतका दरले हुन आउने ३४ अर्ब ९६ करोड ९० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन २०८१ जेठ मसान्तको तुलनामा एक दशमलव ५१ प्रतिशत अर्थात् पाँच अर्ब ३४ करोड ३० लाख रुपैयाँले कम हो । २०८१ जेठ मसान्तसम्म विकास बैंकहरूले चार खर्ब ९७ अर्ब ७४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा तीन दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । उक्त अवधिमा विकास बैंकहरूले आठ दशमलव ६३ प्रतिशतले हुन आउने ४० अर्ब ३१ करोड २० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।
सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले भने २०८२ जेठ मसान्तसम्म एक खर्ब एक अर्ब ९२ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १३ दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरूले पाँच दशमलव ४७ प्रतिशतका दरले हुन आउने चार अर्ब २५ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन २०८१ जेठ मसान्तको तुलनामा एक दशमलव ६४ प्रतिशत अर्थात् दुई अर्ब ३१ करोड ७० लाख रुपैयाँले कम हो । उक्त अवधिमा फाइनान्स कम्पनीहरूले कुल ९८ अर्ब ६९ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा १०ं दशमलव ४० प्रतिशत मात्र निष्क्रिय देखिएको थियो । उक्त अवधिमा फाइनान्स कम्पनीहरूले सात दशमलव ११ प्रतिशतका दरले हुन आउने छ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।