काठमाडौं । गत आर्थिक वर्षमा वस्तु निर्यात बढे पनि त्यसले व्यापार घाटालाई राहत दिन सकेको छैन । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष व्यापार घाटा छ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा १४ खर्ब ४० अर्ब ६० करोड रुपैयाँ व्यापार घाटा भएकोमा गत आर्थिक वर्षमा बढेर १५ खर्ब २७ अर्ब नौ करोड रुपैयाँ पुगेको छ ।
उच्च निर्यात भए पनि त्योभन्दा बढी आयातले निरन्तरता पाउँदा व्यापार घाटा बढेको हो । गत आर्थिक वर्ष (आव)मा दुई खर्ब ७७ अर्ब तीन करोड रुपैयाँ बराबरको निर्यात व्यापार हुँदा अघिल्लो आवमा एक खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ निर्यात व्यापार थियो । निर्यात व्यापार हालसम्मकै उच्च रहेको छ । गत आवमा प्रमुख निर्यातजन्य सामग्रीहरूमा सोयाबिन तेल, सनफलावर तेल, गलैँचा, अलैँची जुटजन्य सामग्री, यार्न, जुस र फलाम तथा स्टिलजन्य सामग्री छ । गत आवमा सोयाबिन तेल एक खर्ब छ अर्ब ७९ करोड रुपैयाँ, सनफलावर तेल १२ अर्ब ३२ करोड रुपैयाँ, गलैँचा १० अर्ब ७७ करोड रुपैयाँ, अलैँची सात अर्ब ६८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुटजन्य सामग्री पाँच अर्ब ६९ करोड रुपैयाँ, यार्न पाँच अर्ब ६५ करोड रुपैयाँ, जुस पाँच अर्ब २१ करोड रुपैयाँ र फलाम तथा स्टिलजन्य सामग्री पाँच अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
हालसम्मकै उच्च निर्यात व्यापार पनि आयतित कच्चा पदार्थमा भर पर्नुपर्ने अवस्था हुँदा टिकाउ हुनेमा द्विविधा छ । सीमित आन्तरिक उत्पादन र धेरै आयातित कच्चा पदार्थमा निर्यात व्यापार भरपर्दा मुलुकको निर्यात व्यापारमा सदैव उही सामग्री हुनु र भरपर्दो अवस्था नरहेको विज्ञहरू बताउँछन् । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याई निर्यात गरिने सामग्रीहरू भटमासको तेल, सूर्यमूखी तेल, गलैँचा, अलैँची, फलाम तथा स्टिलजन्य सामग्री, जुट, जुस र र्यान रहेका देखिन्छ । यसका साथै फेल्ट, चिया, कुकुर बिरालको आहारा रहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. सुमनकुमार रेग्मीका अनुसार निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरूका व्यावसायिक उत्पादन हुन नसक्दा निर्यात व्यापार सोचेअनुरूप बढ्न नसकेको हो । पछिल्लो समय सूचना प्रविधिको व्यापार बढ्दैजाँदा सरकारले उक्त क्षेत्रलाई ध्यान दिन नसक्दा निर्यात व्यापार वृद्धि हुन नसकेको उनको भनाइ छ । निर्यात व्यापारको लागि समस्याको रूपमा अन्तर्राष्ट्रिय व्यापारका लागि लगानी एवं व्यापारमैत्री वातावरणको कमी, निकासीजन्य उद्योगहरूलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग एकीकृत गर्न नसक्नु, आपूर्तिजन्य कठिनाइहरू विद्यमान रहनु, प्रमुख निकासीजन्य वस्तुहरूको गुणस्तरमा कमी, असहज श्रम सम्बन्ध, ऊर्जा समस्याले उत्पादन लागत बढ्नु रहेको विज्ञहरू बताउँछन् । अर्कोतर्फ अन्तर्राष्ट्रिय समस्यामा अधिकांश निर्यातयोग्य वस्तुहरू आयातित कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुन विज्ञहरूको भनाइ छ ।
आजभन्दा करिब दुई दशकअघि सरकारले निर्यात एक खर्ब पुर्याउने लक्ष्य लिएको थियो भने उक्त लक्ष्य आर्थिक वर्ष २०७८/७९ मा पूरा गरेको थियो । त्यसपछि सरकारले निर्यात व्यापारको लक्ष्य निर्धारण गरेको पाइँदैन । २०६४ मा सरकारले ल्याएको तीन वर्षीय अन्तरिक योजनाले निर्यात मूल्य एक खर्ब पुर्याउने लक्ष्य लिएको थियो ।
व्यापार घाटा, निर्यात मात्र नभई आयात समेत बढेको छ । गत आवमा १८ खर्ब चार अर्ब १२ करोड रुपैयाँ बराबरको आयात रहेको छ । जुन अघिल्लो आवको तुलनामा १३ दशमलव २५ प्रतिशतले बढी हो । अघिल्लो आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँ बराबरको आयात थियो । गत आवमा डिजेल एक खर्ब २८ अर्ब ७६ करोड रुपैयाँ, कच्चा सोयबिन तेल एक खर्ब आठ अर्ब ९५ करोड रुपैयाँ, पेट्रोल ६४ अर्ब १२ करोड रुपैयाँ, खाना पकाउने (एलपीजी) ग्यास ६२ अर्ब ५८ करोड रुपैयाँ बराबरको अयात गरिएको छ । सोही अवधिमा कच्चा फलाम ४८ अर्ब ७६ करोड रुपैयाँ, मोबाइल ३५ अर्ब ५४ करोड रुपैयाँ, कच्चा सनफ्लावर २९ अर्ब दुई करोड रुपैयाँ बराबरको आयात गरिएको छ ।
पेट्रोलियम पदार्थको आयातको लागि पूर्णरूपमा भारतमा निर्भर रहेका छौँ भने चीनबाट विद्युतीय सामग्री, कपडा र फलफूललगायतका सामग्रीमा उच्च निर्भर रहेका छौँ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिको आयात पनि बढेका कारण भारतसँगको व्यापारघाटा पनि बढेको विभागका निर्देशक एवं सूचना अधिकारी किशोर बर्तौलाले । उनका अनुसार चीनबाट नेपालमा आयात हुने सामानहरूमा भने विद्युतीय सामग्री, विद्युतीय सवारी साधान, तयारी पोशाक, जुताचप्पल, यातायातका पार्टपुर्जा र लसुन, स्याउलगायतका फलफूल रहेको छ । जसले गर्दा चीनसँग व्यापारघाटा बढेको छ । पछिल्लो समय भने बाढीका कारण रसुवागढी नाका भने प्रभावित छ ।
व्यापार घाटा, आयात र निर्यात बढ्दा समग्रमा मुलुकको वैदेशिक व्यापार समेत बढेको छ । गत आवमा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार छ । जुन अघिल्लो आवको तुलनामा १९ दशमलव २४ प्रतिशतले बढी हो । अघिल्लो आवमा १७ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार रहेको थियो ।