काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकीकरणमा लैजान आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सामान आयात गरी नाफा आर्जन गर्नेतर्फभन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उनको भनाइ थियो । भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तुहरू नेपाली होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सक्ने उनको भनाइ छ । परिसंघका अध्यक्ष पाण्डेले परिसंघले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको बताए । उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार एक सय अर्ब डलर र दोहोरो अंकको आर्थिक वृद्धि गराउने लक्ष्य राखेको उल्लेख गरे । यसका लागि आठ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र सरकारले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्ने विश्वास राखेको उनले बताए ।
यसैगरी, परिसंघको पदाधिकारीले सभामुख देवराज घिमिरेसँग पनि भेट गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्ने गरी कानुनहरू ल्याउन आग्रह गरेको छ । साथै, परिसंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग छुट्टाछुट्टै भेट गरी अर्थतन्त्रको वर्तमान अवस्था, कानुनी एवं नीतिगत सुधार, बजेटको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ ।
छलफलमा उद्योगमन्त्री भण्डारीले सरकारलाई परिसंघले अध्ययन गरेर स्पष्टरूपमा सुझाव दिने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सुझावहरू प्राप्त हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रको मनोबल बढाउन अझै धेरै काम गर्नुपर्ने उनले बताए । यस्तै, उनले सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आएको बताए । औद्योगिक पूर्वाधार निजी क्षेत्रले बनाउनुपर्नेमा समेत उनले जोड दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले मन्त्रालयले गत आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन सफल भएको भन्दै समग्र आर्थिक विकासका लागि आवश्यक नीति निर्माणका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताए ।
परिसंघ पदाधिकारीसँगको भेटमा ऊर्जामन्त्री खड्काले ऊर्जा विकासका लागि नीतिगत सुधार गर्न चाहिरहेको बताएका थिए । उनले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई समेत खुला गर्ने तयारी सरकारले गरिरहेको उल्लेख गरे । छलफलमा उपाध्यक्षहरू राज बहादुर शाह, हेमराज ढकाल, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।