काठमाडौं । नबिल बैंकको ऋणपत्रको बिक्री खुला भएको छ । बैंकले मंगलबारबाट प्रतिएकाइ एक हजार रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।
बैंकले ८ वर्ष अवधि तथा वार्षिक सात प्रतिशत व्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये १८ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख एकाइ सर्वसाधारणका लागि खुला गरिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यस ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । यो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन २० गतेसम्म खुला रहनेछ । जसमा न्यूनतम २५ एकाइदेखि अधिकतम १२ लाख एकाइसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।