काठमाडौं । इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिकरूपमा हस्तान्तरण गरेको छ ।
इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्र (एनसीडीएम)सँगको सहकार्यमा निर्माण गरिएका पाँचवटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिकरूपमा हस्तान्तरण गरेको हो । साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको छ । कम्पनीका अनुसार नवनिर्मित घरहरू बाढी र पहिरोपीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो । ‘बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ, जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ, र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्दछ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले इनड्राइभले सदैव समुदाय केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको बताए । ‘इनड्राइभमा हाम्रो मिसन केवल राइड सर्भिसमा मात्र सीमित छैन । यो दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रासँग सम्बन्धित छ । यो सहकार्यमार्फत हामी केवल बसोबासको व्यवस्था मात्र गरिरहेका छैनौँ । बाढी र पहिरोबाट सबैथोक गुमाएका परिवारहरूमा स्थिरता, सम्मान र आशाको पुनस्र्थापना गरिरहेका छौँ’, उनले भने, ‘हामी उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने यात्रामा स्वतन्त्र निर्णय लिने अधिकार र नयाँ आत्मविश्वासका साथ सँगै उभिन पाउँदा गर्व गर्छौँ ।’ इनड्राइभ यस्तै साझेदारीमार्फत समावेशी, सुरक्षित र सशक्त समुदाय निर्माण गर्न कटिबद्ध रहेको पनि उनले बताए ।
इनड्राइभमा एपीएसीका रिजनल डाइरेक्टर मार्क टलीले इनड्राइभको मुख्य उद्देश्य सामाजिक अन्यायलाई चुनौती दिनु रहेको बताए । ‘हामीले थालेको यो पहल सोही उद्देश्यको प्रत्यक्ष प्रतिबिम्ब हो । हाम्रो लक्ष्य सन् २०३० सम्ममा एक अर्ब मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो । त्यो पनि समुदाय–सञ्चालित र दिगो कार्यहरूमार्फत’, उनले भने, ‘यी बनाइएका घरहरू केवल बाँस र माटोले बनेका संरचनाहरू मात्र नभई, घरवार गुमाएका परिवारहरूका लागि पुनर्जीवन सुरु गर्न सक्ने सुरक्षित स्थान हुन् जसले उनीहरूलाई फेरि आत्मबल दिनेछ ।’
सम्पूर्ण निर्माण प्रक्रिया स्थानीय समुदायसँगको समन्वयमा सम्पन्न गरेको उनले बताए । यसले हरेक परिवारलाई आफ्नो आवश्यकताअनुसारको घर छनोट गर्ने स्वतन्त्रता दिएको उनको भनाई छ । ‘यस प्रक्रियाले मानिसहरूकै आवाज र चाहनालाई प्राथमिकतामा राखेको छ । एनसीडीएमसँगको हाम्रो सहकार्यले लचिलोपन र ‘पिपुल फर्स्ट‘ भन्ने हाम्रो मूल दर्शनलाई झल्काउँछ’, उनले भने, ‘हामी विश्वास गर्छौं–यस्तो सहयोग र सहकार्यले मात्र दीर्घकालीन समाधान सम्भव हुन्छ ।’