काठमाडौ । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ लाई सफल पार्न सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह गरेको छ ।
एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई भेटी ‘एनआरएन इन्भेस्टमेन्ट समिट २०२५’ को आयोजनाका विषयमा छलफल गरेका हुन् । अध्यक्ष श्रेष्ठले असोज २५ र २६ गते काठमाडौंमा गर्न लागेको समिट सफल पार्नका लागि अध्यक्ष ढकाललाई आग्रह गरेका थिए । सो अवसरमा महासंघका अध्यक्ष ढकालले एनआरएन लगानी सम्मेलनलाई निजी क्षेत्रले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले एनआरएनहरूलाई नेपालमा दिगोरूपमा लगानी गर्ने तथा नीतिगत पहलहरूमा समेत साझेदारी गर्नका लागि आग्रह गरे । यसका लागि नेपालमै लगानीका पर्याप्त अवसरहरू प्रोजेक्ट पाइपलाइन तथा राम्रो प्रतिफलको अवस्था बनेको पनि बताए ।
साथै, उनले उद्योग वाणिज्य महासंघ र एनआरएनएबीच रणनीतिक सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानीका नयाँ सम्भावनाहरू उजागर गर्न सकिने विश्वास व्यक्त गरे । यसमा एनआरएनहरू एकजुट भर्ई आउनुपर्ने सुझाव पनि दिए । एनआरएनए आईसीसीको हालै बसेको पाँचौँ बैठकले नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई सफल पार्नका लागि एनआरएन डेको अवसरमा समिट गर्ने निर्णय गरेको थियो । श्रेष्ठले सम्मेलनले नीतिगतरूपान्तरण, सरकारको लगानी प्रवद्र्धनप्रति प्रतिबद्धता तथा निजी क्षेत्रलाई सशक्त साझेदारको रूपमा उभ्याउने पहल गर्ने वताए ।
पछिल्लो समय सरकारले लगानीका लागि वातावरण बनाउन भन्दै गरेका कानुनी सुधार, एकद्वार प्रणालीको कार्यान्वयन, पूर्वाधार र ऊर्जा क्षेत्रमा साझेदारीको विस्तार तथा डिजिटलाइजेसन र सेवा प्रवाहमा भएको सहजताका प्रयासहरूले अन्तर्राष्ट्रिय तथा एनआरएन लगानीकर्ताहरूका लागि नेपाल आकर्षणको केन्द्र बन्न थालेको समेत बताए ।
सम्मेलनको प्रमुख उद्देश्यहरूमा नेपालमा लगानीमैत्री वातावरण प्रवद्र्धन, रोजगारी सिर्जना तथा औद्योगिकीकरणलाई सहयोग, विज्ञान र प्रविधि स्थानान्तरण, एनआरएनलाई दीर्घकालीन साझेदारको रूपमा सुदृढीकरण तथा सरकार–निजी क्षेत्र–डायस्पोरा त्रिपक्षीय सहकार्यको निर्माण रहेको अध्यक्ष श्रेष्ठले बताएका थिए । अक्टोबरमा हुन लागेको सम्मेलनमा एनआरएन लगानीकर्ता, नेपाली लगानीकर्ता, विकास साझेदार, नेपाल सरकारका नीतिनिर्माता र सरोकारवाला निकायहरूको सहभागिता हुने जनाइएको छ ।