काठमाडौ । गोरखा ब्रुअरी प्रालिले नेपालको राइड–हेलिङ प्लेटफर्म पठाओसँग सहकार्य गर्दै ‘ड्रिङ्क रेस्पोन्सिब्ली’ अभियान सुरु गरेको छ ।
यस अभियानमार्फत सामाजिक जमघट विशेषतः रात्रिकालीन स्थलहरूमा सहभागी हुने व्यक्तिहरूलाई मद्यपान पछिको यात्रा सुरक्षित बनाउन पठाओजस्ता सेवाको उपयोग गर्न प्रेरित गरिने जनाइएको छ । यसले ‘ड्रिङ्क एन्ड ड्राइभ’विरुद्ध सचेतना फैलाउँदै दीर्घकालीन जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । ‘यो अभियान केवल सन्देश हैन, चेतना र सोचमा रूपान्तरण ल्याउने प्रयास हो । सामाजिक उत्तरदायित्वप्रति हाम्रो गहिरो प्रतिबद्धता र स्थानीय सहकार्यबाट सकारात्मक प्रभाव सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण हो,’ गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर रोजन अमात्यले भने ।
कम्पनीका अनुसार अभियानको प्रारम्भिक चरण काठमाडौं उपत्यकामा सञ्चालन हुनेछ । पठाओको डेटा–आधारित सञ्चार संयन्त्रमार्फत सामाजिक तथा मनोरञ्जन क्षेत्रहरूमा लक्षित सन्देश प्रवाह गरिनेछ, जसले प्रभावकारीरूपमा जिम्मेवार मद्यपानबारे सचेतना फैलाउने अपेक्षा गरिएको छ । नेपालमा ब्रुअरी कम्पनी र राइड–हेलिङ प्लेटफर्मबीच जिम्मेवार मद्यपान प्रवद्र्धनका लागि यस किसिमको सहकार्य पहिलो हो । यसले उद्देश्य–केन्द्रित सहकार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने सम्भावना उजागर गरेको कम्पनीको दाबी छ । गोरखा ब्रुअरी र पठाओले दिगोपनका प्रतिबद्धतालाई व्यावहारिक कार्यद्वारा रूपान्तरण गर्दै सकारात्मक परिवर्तन सचेत निर्णय र सामूहिक प्रयासबाट सुरु हुने स्पष्ट सन्देश दिएका छन् ।