काठमाडौं, नेपाल चिकित्सक संघले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाउँदै पुनः सशक्त आन्दोलनको चेतावनी दिएको छ।संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा सहमति भएको लामो समय बितिसक्दा पनि कार्यदल निष्क्रिय रहनु दुःखद रहेको उल्लेख गरिएको छ। गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा संघ र सरकारका तीनजना मन्त्रीबीच उपभोक्ता संरक्षण ऐनलगायत नीतिगत विषयमा संशोधन गर्न ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गरिएको थियो। तर, निर्धारित समयसीमा नाघिसक्दा पनि प्रतिवेदन पेश नभएपछि संघले सरकारको नियतमाथि प्रश्न उठाएको हो। डा. तिवारीले भनेका छन्, "सरकारका उच्च अधिकारीहरूसँग भएको सहमति कार्यान्वयन नहुनु सरकारको विश्वसनीयता गुम्ने खतरा हो। अब भविष्यमा यस्ता मौखिक वा लिखित प्रतिबद्धतामा विश्वास गर्न सकिने आधार छैन।" संघले पुनः आन्दोलनमा जान बाध्य पारिएमा अबको आन्दोलन विगतभन्दा अझ सशक्त र प्रभावकारी हुने चेतावनी पनि दिएको छ।