काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रका केही नेताहरू अझै पनि 'सिँगौरी खेल्न पाए हुन्थ्यो' भन्ने सोचमा रहेको टिप्पणी गरेका छन्। उनले यस्तो धारणा पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीमा राखेका हुन्।
प्रचण्डको टिप्पणी पार्टी उपमहासचिव जनार्दन शर्मालगायत केही नेताहरूले नेतृत्वप्रति उठाएका असहमति र आलोचनाको सन्दर्भमा आएको हो। “उहाँहरूलाई म प्रशस्त सिँगौरी खेल्न दिएको छु,” प्रचण्डले व्यङ्ग्य गर्दै भने, “जति खेल्न मन लाग्छ, खेल्नुस् भनेर छुट दिएको छु।”
उनले पछिल्लो समय देशभर ‘परामर्श यात्रा’ का नाममा गरिएको पार्टीभित्रको गतिविधिलाई पनि त्यसै सन्दर्भमा जोड्दै, “अस्ति डेढ महिना परामर्श भनेर देशभर लिएरै हिँडे, यो भन्दा बढी गर्ने के हो जनवाद रु” भन्ने प्रश्न उठाए।प्रचण्डले फरक मत राख्नेहरू प्रति आफू ‘अलिकति बढी उदार’ भएको स्वीकार गरे। “मलाई कमजोरी के हो भने, भिन्न मतलाई दमन नगर्ने, बरु बढी सहिष्णु हुने हो,” उनले भने।त्यस्तै, पार्टीभित्र आलोचना झेल्दै आएको स्मरण गर्दै उनले बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, रामबहादुर थापा ‘बादल’लगायत नेताहरूलाई आफैंले कहिल्यै कारबाही नगरेको जिकिर गरे।