नेपाल राष्ट्र बैंकले मुलुकका १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (Loan Portfolio Audit) गर्न बंगलादेशको अडिट कम्पनी हउलादार युनुस एण्ड कम्पनीलाई छनोट गरेको छ।राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ (२) अनुसार सो अडिट कम्पनीसँग रु. ६२ लाख ५४ हजार ९१२ मा सम्झौता गरेको हो। प्राविधिक मूल्यांकनको आधारमा हउलादार युनुस एण्ड कम्पनी मात्र छनोटमा परेपछि आर्थिक प्रस्ताव खोलिएको थियो।
यसअघि सन् २०८१ पुसमा आह्वान गरिएको बोलपत्रमा कुल ६ कम्पनीले आवेदन दिएका थिए। तीमध्ये बंगलादेशको हउलादार युनुस मात्र प्राविधिक प्रस्तावमा सफल भएको हो।तर प्रतिस्पर्धी मेहरा जेकेएसएस एसएसबीडीआई समूहको तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतीश सुवेदीले प्रक्रिया विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो क्रममा आर्थिक प्रस्ताव खोल्ने कार्य रोकिएको थियो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले गत असार ९ गते अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेपछि राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको हो। राष्ट्र बैंकले कर्जाको गुणस्तर, जोखिम मूल्याङ्कन, र बैंकको आन्तरिक व्यवस्थापनको अवस्थाबारे स्वतन्त्र अडिटमार्फत विस्तृत अध्ययन गरी सुधारको खाका तयार पार्ने उद्देश्यले यो पहल सुरु गरेको बताइएको छ।