काठमाडौँ,अब डिम्याट खातामा सेयर मौज्दात नरहेमा र पाँच वर्षसम्म नवीकरण नगरिएमा ती खाता स्वतः रोक्का वा बन्द हुने भएका छन्। नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममार्फत यस्तो व्यवस्था गरिएको हो।बोर्डले केन्द्रीय निक्षेप प्रणाली कम्पनी (सिडिएससी) लाई आवश्यक निर्देशन दिँदै, अबदेखि धितोपत्र मौज्दात नरहेका वा लामो समयदेखि नवीकरण नभएका खातालाई बन्द गर्न सकिने प्रावधान ल्याएको छ। यस्ता खाता बन्द गर्दा यदि नवीकरण शुल्क असुल्न सकिएन भने त्यो छुट दिइनेछ भने शुल्क असुल गरेपछि मात्रै सिडिएससीलाई बुझाउनुपर्नेछ। सो अनुसार सम्बन्धित विनियम संशोधनका लागि प्रक्रिया अघि बढाइसकिएको छ। यसका साथै, दोस्रो बजारमा सेयर खरिद गर्दा प्रयोगकर्ताको बैंक खातामा पर्याप्त रकम भए मात्र कारोबार गर्न सकिने गरी नयाँ व्यवस्था लागू गरिने भएको छ।बोर्डले प्राथमिक सेयर निष्कासन (IPO) प्रक्रियालाई झन् पारदर्शी र छरितो बनाउँदै, अब आवेदन दिँदा तुरुन्तै सिस्टमबाट रकम रोक्का हुने र बाँडफाँटपछि स्वतः फुकुवा हुने प्रविधि विकास गर्न लागेको छ। नयाँ नीति अनुसार अब जुनसुकै देशमा रहेका गैरआवासीय नेपाली नागरिकले नेपाली नागरिकता प्रयोग गरी नेपालमै बसेझैं सेयर खरिद–बिक्री गर्न पाउनेछन्।बोर्डले अवैध कारोबार र बजार दुरुपयोग नियन्त्रण गर्न सशक्त नियमन प्रणाली लागू गर्ने, वित्तीय उपकरणको विकास गर्ने, प्रणालीगत जोखिम न्यूनीकरण गर्ने, सूचना प्रविधिमा लगानी बढाउने र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।बोर्डले लगानीकर्ताको वित्तीय साक्षरता अभिवृद्धिका लागि निरन्तर पुँजी बजार शिक्षा कार्यक्रम सञ्चालन गर्ने र अनुसन्धान तथा अध्ययनलाई प्राथमिकतामा राख्दै बजारप्रति जनविश्वास बढाउने प्रयास गर्ने स्पष्ट पारेको छ।