धनुषा । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे दोहन रोक्न आग्रह गरेका छन् । नेपाली काँग्रेस धनुषाको कार्यालयमा आयोजित कार्यक्रममा उनले चुरे दोहन नरोकेसम्म चुरे संरक्षण हुन नसक्ने बताए ।
मधेशमा अहिले पानीको समस्या देखिनुमा चुरे दोहन पनि कारण रहेको उनको भनाइ छ । मधेशमा देखिएको पानीको समस्यामा सरकार गम्भीर रहेको उल्लेख गर्दै तत्कालै बस्ने मन्त्रिपरिषद् बैठकले मधेशमा देखिएको पानीको समस्याका बारेमा केही निर्णय गर्ने उनले जानकारी पनि दिए ।
यस्तै, उनले फरक प्रसंगमा एकले अर्कालाई हिलो छ्यापाछ्याप गरेर नेपाली काँग्रेस पार्टी बलियो नहुने बताए । पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धाले कसैको हित नगर्ने उनको भनाइ थियो । ‘एकले अर्काेलाई गाली गरेर पार्टी बलियो हुँदैन । हिलो छ्यापाछ्याप गर्नुभन्दा पार्टीभित्रका कमजोरी र त्रुटि सच्याउनुपर्छ । अस्वस्थ प्रतिस्पर्धाले राम्रो गर्दैन’, उनले भने । नेपाली काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिंहले पार्टीको संगठन सुदृढीकरणका लाग्नुपर्नेमा जोड दिए । काँग्रेस कमजोर भए प्राप्त उपलब्धि गुम्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न काँग्रेस बलियो बनाउनुपर्ने बताए । कार्यक्रममा धनुषाका स्थानीय सरकारका प्रमुखहरूले यसपटक सहरी विकास मन्त्रालयबाट धेरै बजेट परेको भन्दै धन्यवाद दिएका थिए ।