काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताएकी छन् ।
नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको छलफलमा परराष्ट्रमन्त्री देउवाले निजी क्षेत्रलाई प्रवर्द्धन नगरेसम्म आर्थिक विकास सम्भव नहुने हुँदा निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन् । यस्तै, उनले स्वदेशीसँगै विदेशी लगानी बढाउन सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिइन् । सरकारले केही कानुनहरूमा संशोधन गरिसकेको उदाहरण दिँदै उनले अन्य कानुनहरूको संशोधन गर्न लागेको बताइन् ।
परराष्ट्रमन्त्रीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने बताए । उनले स्वदेशी लगानीले मात्रै देशले लिएको लक्ष्य हासिल गर्न सम्भव नभएको हुँदा वैदेशिक लगानी आकर्षित गर्ने कानुनी, नीतिगत एवं सहज व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको उल्लेख गरे । देशगतरूपमा विशिष्ट आर्थिक रणनीति बनाउन, विदेशी बजारमा नेपाली वस्तुहरूको प्रवर्द्धन गर्न नेपाली दूतावास तथा नियोगहरूलाई प्रभावकारीरूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री देउवासँगै मुख्यसचिव एक नारायण अर्यालसँग पनि छलफल गरेको थियो । छलफलमा मुख्यसचिव अर्यालले उद्योग र निजी क्षेत्र विनाअर्थतन्त्र अगाडि बढ्न सक्दैन भन्नेमा स्पष्ट रहेको बताए । निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले कानुनी एवं नीतिगत सुधारलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक क्षेत्र, औद्योगिक विकास एवं वनसँग सम्बन्धितलगायत अन्य करिब एक सय २० वटा कानुन सरकारले संशोधनको तयारी गरिरहेको उनले जानकारी दिए । समग्र अर्थतन्त्रको विकासका लागि क्षेत्रगतरूपमा सुझाव दिन समेत उनले परिसंघसँग आग्रह गरेका थिए ।